तल्लो तटिय लाभका वारेमा भारतसंग छलफल गर्न चाहन्छौः उर्जामन्त्री पुन


काठमाडौं – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसंग भारतिय उर्जा मन्त्रालयका सचिव अजय भल्लाले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधवारदेखी पोखरामा हुने दुवै देशका ऊर्जा तथा जलस्रोत सचिवस्तरीय छैटौं (जोइन्ट स्टेयरिङ कमिटी–जेएसटिसी)वैठकमा सहभागी हुन नेपाल आएका सचिव भल्लाले मंगलवार दिउंसो उर्जामन्त्री पुनसंग भेटवार्ता गरेका हुन् ।

भेटमा मन्त्री पुनले नेपाल–भारतसम्बन्ध ऐतिहासिक रहेको भन्दै आगामी दिनमा पनि दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे । उनले नेपाल भारतसंग उर्जा क्षेत्रमा सहकार्य गर्न थप ईच्छुक रहेको बताए । मन्त्री पुनले सरकारले बुढीगण्डकी र दुधकोशीजस्ता ठुला जलाशययुक्त आयोजना बनाउन लागेको भन्दै त्यसले भारतको बाढी नियन्त्रण,सिंचाई र खानेपानीका लागी सहयोग पुग्ने धारणा राखे ।

उनले त्यसका साथै तल्लो तटिय लाभका वारेमा भारतसंग छलफल गर्ने नेपालको चाहना रहेको बताए । मन्त्री पुनले भने ‘हामीले नेपालमा ठुला जलाशययुक्त परियोजनाहरु बनाउंदैछौ,यसले नेपाललाई मात्र नभई भारतको बाढी नियन्त्रणमा समेत सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।’  उनले भारत सरकारले संशोधन गरेको अन्तरदेशीय विद्युत् व्यापारको निर्देशिकाले नेपालको विद्युत व्यापारका लागी फाईदा पुर्याएको भन्दै त्यसका लागी धन्यवाद समेत दिए ।

नेपालमा हाल दुई तिहाई बहुमतसहितको स्थायी सरकार रहेको भन्दै नेपालको उर्जा क्षेत्रमा लगानीका लागी वातावरण बनाइदिन आग्रह गरे । ‘हाल देशमा बलियो र स्थिर सरकार छ, म तपाईमार्फत भारतिय लगानीकर्तामा नेपालमा लगानी गर्न उपयुक्त वातावरण छ भन्ने सुचना प्रवाह होस भन्ने चाहन्छु ।’ भेटमा मन्त्री पुनले भने ।

मन्त्रीपुनसंगको भेटमा सचिव भल्लाले अरुण तेस्रो परियोजनामा भइरहेको प्रगतीबारे जानकारी गराउनुका साथै सचिवस्तरीय वैठकका ऐजेण्डाबारे समेत अवगत गरएका थिए । सचिव भल्लाले सचिवस्तरीय वैठकमा अन्र्तरदेशिय प्रशारण लाइन, १३२ केभीको कटैया–कुसाहा र रक्सोल–परवानीपुर दोस्रो सर्किट निर्माण र भारतिय लगानीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको बारेमा छलफल हुने बताए ।

उहाले न्यु वुटवल–गोरखपुर अन्र्तरदेशिय प्रशारण लाइनको बारेमा प्राविधिक तहमा प्रयाप्त छलफल भएको भन्दै सचिवस्तरीय वैठकमा त्यसको टुंगो लगाउने गरी छलफल गर्ने तयारी रहेको जानकारी दिए । त्यसका साथै इनर्जी वैंकिङको लागी प्राविधिक तहमा घनिभुत छलफल भएको भन्दै त्यसमा सहमतीको प्रयास हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement