उर्जामन्त्रीले कर्मचारीलाई भनेः ‘म तपाईहरुको साथी पनि गार्जीयन पनि, तर मलाई परिणाम चाहिन्छ’


काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले बदलिएको परिस्थती अनुसार काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा आयोजित विभागिय प्रस्तुतीकरण कार्यक्रमलाई विहिवार सम्बोधन गर्दै उर्जामन्त्री पुनले देश संघिय संरचनामा गइसकेको भन्दै खटिएको ठांउमा गएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘तपाईहरुलाई राज्यले कही अफ्ठेरो परेको छ भने हेर्छ, तर बदलिएको परिस्थितीलाई भने तपाईहरुले आत्मसाथ गर्नुपर्छ’, मन्त्री पुनले भने,  ‘फिल्डमा गएर जनताको सेवामा लाग्नुहोस् ।’

मन्त्री पुनले आफु मन्त्री मात्र नभएर सबैको गार्जीयन भएको समेत बताउए । उनले मन्त्रालयको लिडर र गार्जेनको रुपमा आफुले काम गर्ने तर आफुलाई पनि त्यसको बदलामा परिणामुखी काम चाहिने भएकाले कार्यक्षेत्रमा जिम्मेवार भएर लाग्न निर्देशन दिए ।

‘म तपाईहरुको साथी हो,गार्जेन पनि हो, तपाईहरुलाई काम पुगेको छैन् अन्याय भएको छ भने म हेर्छु,काम पनि दिन्छु । तर मलाई तपाईहरुले जिम्मा दिएअनुसारको परिणाम दिनुपर्छ । ’ मन्त्री पुनले भने ।

मन्त्री पुनले सरकारी सम्पतीको दुरुपयोग नगर्न समेत कर्मचारीलाई चेतावनी दिएका छन्। ‘जनताको करबाट उठेको पैसाको दुरुपयोग भयो भने ठुलो अपराध सरह हुन्छ, त्यसैले तपाईहरुले कम बजेटमा धेरै काम गर्ने गरी योजना बनाउनुहोस् ।’ मन्त्री पुनले भने ।

मन्त्री पुनले उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले राम्रो काम गरेर देखाउने चुनौती भएको भन्दै त्यसका लागि कार्यक्षेत्रमा इमान्दारितापुर्वक लाग्न निर्देशन समेत दिए। उनले जनताले विकासको परिणाम खोजेको भन्दै त्यसका लागी खरो रुपमा उत्रनुपर्ने बताए ।

‘हामीलाई,व्यक्तिगत रुपमा मलाई पनि तर्क गर्ने ठाँउ छैन्, जनताले परिणाम खोजेका छन्, जनआकांक्षालाई पुरा गर्न हामी सामुहिक रुपमा काम गरौं ।’ मन्त्री पुनले कर्मचारीलाई निर्देशन दिंदै भने ।

उनले जलवायु परिवर्तनको क्षेत्रमा ठुला–ठुला चुनौती रहेको भन्दै त्यसका लागी तयार रहेर बस्न समेत जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका कर्मचारीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement