उर्जामन्त्री पुन र बंङ्गलादेशी राजदूत साम्सबीच भेटवार्ता


काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि बंङ्गलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ ।

राजदूत साम्ससंगको भेटमा उर्जामन्त्री पुनले सरकार उर्जा क्षेत्रमा बंङ्गलादेशसंग नेपाल सहकार्य गर्न तयार रहेको धारणा राखेका थिए । मन्त्री पुनले सार्क फ्रेमवर्कभित्र रहेर काम गर्न नेपाल ईच्छुक रहेको समेत बताएका थिए । उनले भेटमा उर्जा क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण रहेको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेको उनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

भेटमा राजदूत साम्सले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बंङ्गलादेश तयार रहेको भन्दै त्यसका लागी नेपालले आयोजना छनौट गरेर दिनुपर्ने बताएकी थिइन् । ‘सरकार मात्र होईन, हाम्रो निजी क्षेत्र समेत नेपालको जलविद्यूतमा लगानी गर्न तयार छ, तर तपाईहरुले हामीलाई राम्रो परियोजना दिनुपर्ने हुन्छ ।’ भेटमा राजदूत साम्सले भनिन् ।

जवाफमा मन्त्री पुनले ठुला आयोजना छनौट गरेर मन्त्रालयको च्यानलबाट जानकारी दिने भन्दै आफ्ना समकक्षी बङ्गलादेशी उर्जामन्त्रीको नेपाल भ्रमणमा त्यसबारेमा टुंगो लगाउने गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए ।

साम्सले वङगलादेश नेपालको पावर सेक्टरमा सहकार्य गर्न तयार रहेको भन्दै त्यसका लागी बंङ्गलादेशी उर्जामन्त्री नेपाल भ्रमणमा आउन ईच्छुक रहेको समेत बताएकी थिइन् । जवाफमा मन्त्री पुनले वङगलादेशी उर्जामन्त्रीलाई छिटोभन्दा छिटो नेपाल भ्रमणमा आमन्त्रण गर्ने जानकारी दिएका थिए  ।

बंङ्गलादेशी राजदूतले सन् २०२१ सम्म बंङ्गलादेशलाई १३ हजार मेगावाट विजुली आवश्यक रहेको भन्दै नेपालको लागी बंङ्गलादेश वैकल्पिक बजार हुन सक्ने सम्भावना रहेको बताएकी थिइन् । उनले पावर सेक्टरमा नेपाल भारत र वङगलादेशको बीचमा सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

‘उर्जा क्षेत्रमा तपाईहरु सहकार्य गर्न तयार हुनुभयो भने हामी भारतलाई पनि सहयोगका लागी आग्रह गर्छौ, हाम्रो देशको प्रधानमन्त्रीको भारत भ्रमणमा समेत पावरको क्षेत्रमा नेपालसंग सहकार्य गर्न भारतले सहयोग गर्ने भन्ने सहमती भएको छ ।’ राजदूत साम्सले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement