सबै दलबाट सर्वसम्मत हुनु खुसीको कुरा हो : उर्मिला अर्याल


काठमाण्डु- राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले सबै दलबाट सर्वसम्मत हुनु खुसीको कुरा भएको बताएकी छन् । सोमबार राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

यो पार्टी त्यो पार्टी भन्दा पनि सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ छ । ‘सबै दलबाट सर्वसम्मत हुनु खुसीको कुरा पनि हो । यो पार्टी त्यो पार्टी भन्दा पनि सबैलाई समेटेर अघि बढ्ने छु । किनभने मलाई निर्वाचित गराउन सबैको भूमिका छ’, उनले भनिन् ।

त्यस्तै अर्यालले महिलालाई अघि बढाउन के कस्ता नीतिगत व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा समेत आफू गम्भीर रहेको बताएकी छन् । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको जनाइएको छ । राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले पनि अर्याललाई समर्थन गरेको थियो ।

राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाली सकेकी छन् ।

विसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मनुभएका अर्याल हालको ठेगाना वीरगञ्ज महानगरपालिका-२३, गण्डक चोक वीरगञ्ज हो ।

तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी हुन् ।

समाजशास्त्रमा स्तातकोत्तर गरेकी अर्याल विद्यावारिधिको शोधार्थी हुन्। अखिल नेपाल महिला सङ््घको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेकी अर्यालले महिला विकास अधिकृतका रुपमा पनि सेवा गरेकी छन् ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । उनी विसं २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनले चीन, भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, कीर्गिस्तान, फिलिपिन्स, थाइल्याण्ड, इन्डोनेसिया, अमेरिका, फ्रान्स, स्पेन, स्वीट्जरल्याण्डलगायतका देशको भ्रमण गरेकी छन् ।

उनका महिला सशक्तीकरण तथा समावेशीकरण एवं कार्ययोजना, कम्युनिष्ट आन्दोलनमा महिलाको भूमिका (सहाना प्रधानसँग संयुक्त लेखन) आर्थिक विकासका विषयमा अनुसन्धानमूलक लेख विभिन्न जर्नलमा प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement