काठमाण्डौं आएलगत्तै अमेरिकी राजदूतको सक्रियता बढ्यो


काठमाण्डु – नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्पसनको सक्रियता बढेको छ । थम्पसनले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए ।

त्यसलगत्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासंग शिष्टाचार भेटवार्ता गरे ।

अमेरिकी वरिष्ठ कूटनीतिज्ञ एवं रक्षा रणनीतिकार समेत रहेका थम्पसनले अहिलेको क्षण दुवै मुलुकका लागि महत्वपूर्ण भएको प्रतिक्रिया दिएका छन् । अमेरिकामा दक्षिण एसिया विज्ञका रुपमा चिनिने थम्पसनले एसपीपीलाई अघि बढाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय रहेको बताएका छन्।

उनले भनेका छन् ‘अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु । यस अवसरले मलाई विनयशील बनाएको छ र म सार्वभौमसत्ता र साझा मूल्यमान्यताको सम्मानमा आधारित संयुक्त राज्य अमेरिका तथा नेपालबिचको सम्बन्धप्रति अटल प्रतिबद्धताका साथ सेवा गर्न कटिबद्ध छु। अहिलेको क्षण हाम्रा दुई मुलुकका लागि महत्त्वपूर्ण क्षण हो र म हाम्रो समयका सबैभन्दा महत्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्न सबै नेपालीहरूसँग सहकार्य गर्न उत्सुक छु।’

थम्पसनले नागरिक समाज, स्वतन्त्र मिडिया र सरकारसँग सहकार्य गर्दै दुई देशले भ्रष्टाचार, दुष्प्रचार र दमनबाट मुक्त रही निरन्तर लोकतन्त्रको रक्षा र जनताको इच्छाशक्तिलाई सुदृढ गर्ने विश्वास समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement