कूटनीतिक विवादमा अमेरिकी राजदूत : ‘राजदूतसँग गफगाफ’ घोषणापछि चौतर्फी प्रहार


काठमाडौं – दुई दिनअघि गत आईतबार नेपालस्थित अमेरिकी दूतावासको फेसबूक पेजमा एउटा भिडियो सन्देश राखिएको छ । जसमा भनिएको छ – अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालीसँग सोझै ‘गफगाफ’ गर्नेछन् ।कार्यक्रमको नाम ‘राजदूतसँग गफगाफ’ राखिएको छ । जुन कार्यक्रमलाई लिएर अहिले नेपाली राजनीति र कूटनीतिक क्षेत्र तरङ्गित बनेको छ । राजदूत बेरीमाथि राजनीतिक र प्रशासनिक नेतृत्व खनिएको छ ।

दूतावासले फेसबूक पेजमा राखेको सन्देशमा लेखिएको छ – ‘तपाईंले राजदूत बेरीलाई एउटा प्रश्न सोध्ने अवसर पाउनुभयो भने त्यो प्रश्न के हुन्थ्यो ? हामीले भेटेका केही महानुभावहरूलाई प्रश्न सोध्ने अवसर दिने गरी साप्ताहिक भिडियो सिरिजको रुपमा ‘राजदूतसँग गफगाफ’ शुरू गर्न गैरहेका छौं । हरेक सोमबार नयाँ प्रश्न र नयाँ उत्तर यहाँहरूसमक्ष आउनेछ । हेर्दै गर्नुहोला ।’ ‘राजदूतसँग गफगाफ’ कार्यक्रमबारे संसद, सरकार र सञ्चारमाध्यममा चर्चा शुरू भएको छ । राजदूतले सोझै जनतासँग गफगाफ गर्न लागेको भन्दै सर्वत्र आलोचना भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदूत र्‍यान्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम सञ्चालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । दूतावासको घोषणा अनुसार आगामी सोमबार कार्यक्रम प्रसारण हुनेछ र सम्भवतः त्यसका लागि आवश्यक तयारी समेत भइसकेको छ ।

वरिष्ठ नेता नेपालले अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासमै नभएको संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरीत हुने भएकाले सञ्चालन नगर्न दूतावासलाई ध्यानाकर्षण गराएका छन् ।
बुधबार संघीय संसद परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता नेपालले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि बताए । ‘कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरूले त झन् त्यसको पालना गर्नैपर्छ,’ उनले भने ।

नेकपाका नेता भीम रावलले कूटनीतिक मर्यादा विपरीत गएर अमेरिकी राजदूत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने बताए । ‘कूटनीतिक क्षेत्रको कानून, मर्यादा कुनै पनि दृष्टिले संवाद कार्यक्रम सञ्चालन गर्ने अनुमति छैन,’ उनले भने ।

नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमति विना अमेरिकी राजदूत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने बताए । दूतावासको गतिविधिबारे सत्तापक्ष–प्रतिपक्ष दुवैको एउटै मत देखिएको छ । राजदूत बेरीलाई गफगाफ कार्यक्रम सञ्चालन गर्न दिने पक्षमा दुवै छैनन् । राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सरकारसँग अनुमति नलिई राजदूत बेरीलाई संवाद कार्यक्रम सञ्चालन गर्ने अधिकार नभएको बताए ।

परराष्ट्र मन्त्रालयले समेत राजदूत बेरीलाई कार्यक्रम सञ्चालन नगर्न ध्यानाकर्षण गराइसकेको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विभिन्न प्रतिक्रिया उत्पन्न भएपछि परराष्ट्र सचिव शंकर बैरागीले मन्त्रालयको ध्यानाकर्षण भएको बताए । उनका अनुसार राजदूतको स्वेच्छाले संवाद कार्यक्रम सञ्चालन गर्न मिल्दैन । अमेरिकी दूतावासले कार्यक्रमबारे मन्त्रालयलाई समेत कुनै जानकारी गराएको छैन ।

पूर्व परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले ट्विटरमा लेखेका छन्, ‘आफ्नो राष्ट्रिय स्वार्थको स्पेस खाली रहे अरू कसैकाले त्यो भरिन्छ । कूटनीतिक वृत्तबाट सोझै जनतासँग स्टाइलको लहरले सुनामीको रूप लिनु पहिले नै स्पष्टता, सुझबुझ र सतर्कता रहँदा कति राम्रो राम्रो ।’ उनले यसबारे सतर्क रहन सरकार र दूतावासको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौंस्थित दूतावासबारे घोषणा गरिएको संवाद कार्यक्रमबारे विस्तृत जानकारी र उद्देश्य प्रष्ट पारिएको छैन । तर संवादको तरङ्ग सबैतिर फैलिएको छ । राजनीतिक नेतृत्व र सरकारबाट संवादको विरोध भइरहँदा दूतावासले अब के गर्छ ? स्पष्ट जवाफ पाउन बढीमा आगामी सोमबारसम्म पर्खनैपर्नेछ ।

 

यस्तो थियो उनको भिडियो आह्वान- 

 

प्रतिक्रिया दिनुहोस
Advertisement