अमेरिकी सहायक विदेशमन्त्री कपूर नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री कपूर नेपाल आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा नयाँ सरकार गठन भएको एक महिना नबित्दै अमेरिकाबाट उच्चस्तरीय कूटनीतिज्ञ आउने भएको छ ।

अमेरिकाको दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री समीर पाल कपूर सोमबार नेपाल आउँदैछन् ।

नेपालमा बालेन शाहको नेतृत्वमा सरकार गठन भएपछि नेपाल आउने कपूर पहिलो उच्चस्तरको कुटनीतिज्ञ हुन् । उनी सोमबार तीनदिने भ्रमणका लागि काठमाण्डु आउँदैछन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूकाअनुसार कपूर नयाँ सरकारलाई बधाई दिन र काठमाण्डुको प्राथमिकता बुझ्न आउँदैछन् । साथै, वाशिङ्टनले नेपालसँग कसरी सहकार्य गर्न चाहन्छ भन्ने सन्देश पनि उनीमार्फत दिइनेछ ।

तर भ्रमणबारे दुवै पक्षले औपचारिक घोषणा भने गरेका छैनन् । कपूरसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई अधिकारी पनि आउनेछन् । उनले अन्य राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने/नगर्ने विषय पनि स्पष्ट छैन । यसबारे काठमाण्डुस्थित अमेरिकी दूतावासले प्रतिक्रिया दिएको छैन ।

नेपाल बसाइँका क्रममा कपूरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल-अमेरिका वाणिज्य संघका पदाधिकारीहरूसँग भेट गर्नेछन् । तर प्रधानमन्त्री शाहसँग पनि उनको भेटबारे केही बताइएको छैन ।

यसअघि फेब्रुअरीमा बंगलादेशमा नयाँ सरकार बनेपछि कपुर ढाका पुगेका थिए र त्यहाँका शीर्ष नेताहरूसँग भेट गरेका थिए। तर प्रधानमन्त्रीसँग भने भेट गरेका थिएनन् ।

लामो समयपछि पहिलोपटक कुनै अमेरिकी उच्च अधिकारी मात्र नेपालकै लागि छुट्टै भ्रमणमा आउँदैछन् । यसअघि यस्ता भ्रमणहरू भारत, बंगलादेश वा श्रीलंकासँग जोडेर हुन्थ्यो ।