अमेरिकाले इरानविरुद्ध आक्रमण रोक्यो

अमेरिकाले इरानविरुद्ध आक्रमण रोक्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकाले इरानविरुद्ध आक्रमण अस्थायी रूपमा रोकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै सम्झौता गर्ने भन्दै इरानविरुद्ध सैन्य आक्रमण रोेकेको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै ट्रम्पले इरान र मध्य पूर्वका अन्य देशहरूले सम्झौताको मापदण्डमा सहमति गरिसकेको र आक्रमण रोक्न अनुरोध गरेपछि यो निर्णय लिइएको उल्लेख गरेका हुन्। ट्रम्पका अनुसार नयाँ बन्ने सम्झौतामा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गको तत्काल र पूर्ण खुलासहित इरानको आणविक खतराको सधैंका लागि अन्त्य गर्ने विषय समावेश छ।

ट्रम्पले लेखेका छन्, ‘अमेरिकासँग दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठुलो सैन्य शक्ति छ र इरानविरुद्ध कारबाही गर्न सक्षम छ। यद्यपि इरान र मध्यपूर्वका अन्य केही देशले आक्रमण रोक्न अनुरोध गरेका छन्, किनभने सम्झौताको ढाँचालाई अन्तिम रूप दिइएको छ।’

ट्रम्पले यो निर्णयमा इजरायलले पनि समर्थन गर्ने दाबी गरेका छन्।

यसैबिच, इरानी विदेशमन्त्री अब्बास अराघाचीले टर्की, पाकिस्तान र साउदी अरेबियाका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै अमेरिका र इजरायलको तर्फबाट हुने जुनसुकै आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका थिए।
अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गरी अहिलेसम्मकै कठोर नयाँ आक्रमणको तयारी गरिरहेको भन्ने समाचार बाहिरिएलगत्तै इरानले यस्तो कडा प्रतिक्रिया दिएको थियो।

यसअघि, साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग फोन संवाद गर्दै अमेरिकाले इरानसँगको द्वन्द्व थप बढाएमा त्यसले सम्पूर्ण खाडी क्षेत्रको ऊर्जा र अन्य प्रमुख पूर्वाधारमा गम्भीर असर पार्न सक्ने भन्दै गहिरो चिन्ता व्यक्त गरेका थिए।

साउदी पक्षले द्वन्द्व थप नचर्कियोस् भनेर अमेरिका र इरानलाई वार्ताको टेबलमा फर्कन निरन्तर आग्रह गर्दै आएको छ। यस हप्ताको सुरुमा साउदी अरेबियाले इराकमा इरानी–समर्थित मिलिसियाहरूविरुद्धका कारबाहीमा अमेरिकासँग सहयोग गरे पनि समग्र क्षेत्रमा शान्ति कायम होस् भन्ने पक्षमा देखिएको छ। गत फेब्रुअरीको अन्त्यबाट अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो ।