६० देशमा अमेरिकाले लगायो साढे १२ प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क

६० देशमा अमेरिकाले लगायो साढे १२ प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जबरजस्ती श्रमबाट उत्पादित वस्तुको व्यापार नियन्त्रण गर्न असफल भएको निष्कर्ष निकाल्दै ६० देशबाट आयात हुने वस्तुमा साडे १२ प्रतिशतसम्म अतिरिक्त भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ ।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर)ले मंगलबार सार्वजनिक गरेको यो प्रस्ताव ट्रम्प प्रशासनले आपतकालीन शुल्क प्रणाली पुनःस्थापित गर्ने प्रयासअन्तर्गत आएको पछिल्लो कदम हो ।

गत फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आइईईपीए) अन्तर्गत ट्रम्पले लगाएका शुल्कहरू खारेज गरिदिएपछि प्रशासनले वैकल्पिक कानुनी आधार खोजेको हो ।

यूएसटीआरका अनुसार जबरजस्ती श्रमसम्बन्धी अनुसन्धानका आधारमा क्यानडा, इक्वेडर, युरोपेली संघ, इन्डोनेसिया, मेक्सिको, पाकिस्तान, अर्जेन्टिना, बंगलादेश, कम्बोडिया, एल साल्भाडोर, ग्वाटेमाला, मलेसिया, ताइवान र बेलायतबाट आयात हुने वस्तुमा १० प्रतिशत अतिरिक्त शुल्क लगाइने प्रस्ताव गरिएको छ ।

अनुसन्धानमा समेटिएका बाँकी ४५ देशका वस्तुमा भने १२.५ प्रतिशत अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरिएको छ ।

चीन, जापान, भारत, दक्षिण कोरिया, ब्राजिल र स्विजरल्याण्ड लगायत अन्य देशहरूमा १२.५ प्रतिशत थप भन्सार लगाइनेछ ।

अमेरिकी व्यापार प्रतिनिधिले विज्ञप्तिमार्फत भनेका छन्, ‘हाम्रा प्रमुख व्यापारिक साझेदारहरूले जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न नसक्नु अस्वीकार्य छ । यसले अमेरिकी श्रमिकहरूलाई असमान प्रतिस्पर्धामा धकेल्ने अवस्था सिर्जना गरेको छ ।’

यूएसटीआरले कपडा तथा तयारी पोशाकका लागि विशेष व्यवस्था पनि प्रस्ताव गरेको छ । यसअन्तर्गत निश्चित परिमाणसम्मका वस्तुहरू कम भन्सार दरमा अमेरिकी बजारमा प्रवेश गर्न सक्नेछन् । तर त्यससम्बन्धी शुल्क दर र परिमाणबारे विवरण सार्वजनिक गरिएको छैन ।

यो घोषणा फेब्रुअरी २० मा लागू गरिएको अस्थायी १० प्रतिशत शुल्कको अवधि जुलाई २४ मा सकिनुअघि गरिएको हो । उक्त शुल्क सर्वोच्च अदालतले ट्रम्प प्रशासनको आपतकालीन शुल्क व्यवस्था खारेज गरेकै दिन लागू गरिएको थियो ।

यसअघि सोमबार यूएसटीआरले ब्राजिलको डिजिटल व्यापार नीति र प्राथमिकतापूर्ण भन्सार व्यवस्थासम्बन्धी अनुसन्धानका आधारमा धेरै ब्राजिली वस्तुमा २५ प्रतिशत शुल्क लगाउने प्रस्ताव गरेको थियो । साथै, चीनसहित १६ व्यापारिक साझेदार मुलुकमा अत्यधिक औद्योगिक क्षमता विस्तारसम्बन्धी अर्को महत्वपूर्ण सेक्शन ३०१ अनुसन्धानको निष्कर्ष पनि चाँडै सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

जबरजस्ती श्रमसम्बन्धी प्रस्तावित शुल्कबाट ऊर्जा, दुर्लभ खनिज (रेयर अर्थ), केही धातु, गाईको मासु, कफी, केही फलफूल तथा तरकारी, औषधि, जैविक रसायन तथा विमानका पार्टपुर्जाजस्ता वस्तुहरूलाई भने छुट दिइने यूएसटीआरले जनाएको छ ।

यूएसटीआरले प्रस्तावित शुल्क तथा अन्य उपायबारे जुलाई ६ सम्म सार्वजनिक टिप्पणी मागेको छ भने जुलाई ७ मा सार्वजनिक सुनुवाइ हुने तालिका तय गरिएको छ ।