खोपमा अनियमितताः दुई सय डोज भेरोसेल खोप मन्त्रालयमा फिर्ता पठाइयो


काठमाण्डु – दक्षिणकाली नगरपालिकाले २ सय डोज भेरोसेल खोप स्वास्थ्य मन्त्रालयमै फिर्ता पठाइदिएको छ ।

दक्षिणकालीस्थित शेषनारायण खोप केन्द्रमा खोप लगाउने क्रममा विवाद भएपछि बाँकी रहेको २ सय डोज मन्त्रालयमै फिर्ता पठाइदिएको हो । मन्त्रालयले नगरपालिकाका लागि एक हजार डोज कोरोना विरुद्धको भेरोसेल खोप पठाएको थियो ।

६० देखि ६४ वर्ष उमेर समूहकालाई भनिएपनि स्थानीय जनप्रतिनिधिहरुकै दबाबमा लक्षित समूहभन्दा बाहिरकालाई खोप दिइएपछि बिवाद भएको बताइएको छ । वडाअध्यक्षहरुको दबाबमा लक्षित समूह बाहिरका व्यक्तिले खोप लगाएको स्रोतले जनाएको छ ।

वडा नं ६ बाट निर्वाचित नगर सदस्य मोहन खड्का सामाजिक सञ्जालमा लेख्छन्, ‘कोभिड भ्याक्सिन ६० देखी ६४ बर्ष उमेर समूहलाई दिने भनियो तर बिडम्बना दक्षिणकाली नगरपालिकामा चै जनप्रतिनिधिको सिफारिसमा उमेर नपुगेकालाई पनि लगाइयो कि सबै लाई लगाइयोस हैन भने कांग्रेस कम्युनिष्ट अब कार्यकर्ता मात्र जस्तो आफ्नो आफ्ना मान्छे छानेर लगाउने घृणित कार्य गर्ने यस्ता जनप्रतिनिधिलाई के भन्ने खै लाजका पसारो जय होस जय जनता ।’

यता नगरपालिकाका मेयर मोहन बस्नेतले घटनाबारे यथार्थ प्रतिवेदन तयार गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । त्यस्तै उनले जनप्रतिनिधिबाट कर्मचारीलाई निमयसंगत बाहेकका अनावश्यक दबाब दिन नहुने बताए । यस्तै उनले छलफल बिना नै खोप फिर्ता पठाइएकोमा असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement