चौथो डोज खोपले पनि ‘ओमिक्रोन’बाट बचाउन सक्दैन : अध्ययन


काठमाण्डु – पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्र गतिमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालसहित विश्वका धेरै जसो देशमा यो भेरियन्ट तीव्र रुपमा फैलिइरहेको छ ।

कोरोना भाइरसबाट बच्नका लागि विश्वभर खोप अभियानहरु पनि जारी छन् । तर कोरोना भाइरसबाट उत्परिवर्तित भाइरसहरु डेल्टा, ओमिक्रोन लगायतका नयाँ भेरियन्टहरुका लागि खोप कति प्रभावकारी छ भन्ने हालसम्म यकिन तथ्यांक छैन ।

यसैबीच हाल विश्वमा तीव्र गतिमा फैलिइरहेको ओमिक्रोन भेरियन्टसहितको संक्रमणबाट कोरोना खोपको चौथो डोजले पनि पूर्णरुपमा बचाउन नसक्ने अध्ययनमा देखिएको छ । इजरायलमा गरिएको अध्ययनमा चौथो डोज लिँदा मानिसमा विकास हुने एन्टिबडीको मात्रा धेरै हुने भए पनि यसले संक्रमणबाट पूर्णरुपमा बचाउन भने नसक्ने देखिएको हो ।

इजरायलको शेबा मेडिकल सेन्टरले आफ्ना कर्मचारीहरुलाई कोभिड–१९ खोपको चौथो डोज दिएर अध्ययन गरेको थियो । उसले १ सय ५४ जनालाई फाइजरको बुस्टर डोज दिएको थियो । र दुई सातापछि उनीहरुमा अध्ययन गरिएको थियो भने १२० जना मानिसलाई मोडेर्नाको खोप दिइएको थियो र एक सातापछि उनीहरुमा अध्ययन गरिएको थियो ।

उनीहरुको तुलना चौथो डोज खोप नलिने मानिसहरुसँग गरिएको थियो । अध्ययनमा तेस्रो डोजको तुलनामा चौथो डोज लिनेमा एन्टिबडीको मात्रा केही बढी देखिएको थियो । यद्यपि यसले ओमिक्रोनसहितको संक्रमणलाई पूर्णरुपमा रोक्न भने नसक्ने देखिएको अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।

अस्पतालले भने विश्वमै पहिलोपटक यस किसिमको अध्ययन भएको बताएको छ । यद्यपि अहिले सार्वजनिक गरिएको नतिजा प्रारम्भिक रहेको र अध्ययनको पूर्ण नतिजा भने आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement