उपत्यकामा निषेधाज्ञा थपिन सक्ने

उपत्यकामा निषेधाज्ञा थपिन सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डु उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् ।

काठमाण्डु, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् । सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि ट्राफिक र अन्य गरी करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । उपत्यका प्रवेशको सात नाकासहित पाँच सय स्थानमा नियमित जाँच चौकी स्थापना गरिएको छ ।

निषेधाज्ञा उल्लङ्घन गर्नेविरुद्ध ‘होल्ड’ कारबाहीअन्तर्गत सवारी साधनको हकमा साँझ ६ बजेसम्म र सर्वसाधारणलाई आधा घण्टा सडकमै उभ्याई सम्झाइबुझाइ गरी फर्काइँदै आएको छ । तर, पछिल्लो पटक कोभिड–१९ सङ्क्रमण व्यवस्था अध्यादेश जारीपछि जरिवाना तथा कैद सजायको तयारी गरिएको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पहिलो तीन हप्ताको निषेधाज्ञामा कोरोना सङ्क्रमण नघटेपछि चौथो पटक थप कडाइ गरिएको स्पष्ट पारे ।

सोही रणनीतिअनुसार खाद्य, थोक तथा किराना पसल र डिपार्टमेन्ट स्टोरहरू पूर्ण रूपमा बन्द गरिएको उनको दाबी छ । अवस्था हेरेर निषेधाज्ञा थपिन सक्ने उनले बताए ।

केही दिनयता निषेधाज्ञा थप कडा बनाइँदा काठमाण्डु उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा घटेको तथ्याङ्क सुनाउँदै उनले भने, “सङ्क्रमितको सम्पर्क तथा भीडबाट टाढा बस्नु नै कोरोनाबाट जोगिने उपयुक्त विकल्प रहेछ ।”-यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।