उपत्यकामा अपरिचितलाई प्रवेशमा रोक


काठमाडौँ – उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि पाहुना लाग्नेदेखि उपत्यका बाहिरबाट आफ्ना घर कोठामा भित्रिने सम्मलाई थप कडाइ गरिएको छ । मङ्गलबार साँझ काठमाडौँको चन्द्रागिरि नगरपालिकामा, मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकामा एक/एक जना गरी तीन व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

सरकारले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न नाका जोडिएका स्थानीय तहलाई आग्रह गरेको छ । कतै अपरिचित व्यक्तिलाई पालिकाभित्र प्रवेश निषेध गरिएको छ भने कतै अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । त्यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन रातको समयमा मात्र सञ्चालन गरिएको छ । सडकमा प्रहरीले कडा चेकजाँच गर्न थालेको छ ।

काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले घरधनीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँका अनुसार प्रत्येक वडा कार्यालयले घरभाडामा बस्ने तथा घरधनीको सचेतनाका लागि टोल–टोलमा ‘माइकिङ’ सुरु गरिएको छ । काठमाडौँ र ललितपुर महानगरपालिकाका कतिपय वडा कार्यालयले सार्वजनिक सूचना जारी गरी पाहुना लाग्ने र गृह जिल्लाबाट पुनः फर्किएर कोठामा बस्न आउनेलाई प्रवेशमा निषेध गर्न आग्रह गरेका छन् ।

घरकोठा छाडेर गएकालाई लकडाउन अवधिमा पुनः घरभित्र प्रवेश गर्न दिई कोरोना सङ्क्रमण फेलापरेमा सङ्क्रमित व्यक्तिको उपचार खर्चदेखि महामारी फैलिएमा त्यसको क्षतिपूर्ति घरधनीलाई तिराउने चेतावनी दिन थालिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement