भत्ता नपाएको भन्दै टिचिङका आवासीय चिकित्सकले काम छोडे


काठमाडौँ – स्वास्थ्य सेवा प्रदान गर्न व्यस्त हुने चिकित्सकहरु अहिले आन्दोलनमा व्यस्त देखिन्छन् । अहिले सरकारलाई दबाब दिन मुख्य रुपमा स्वास्थ्यकर्मीहरु सडकमा उत्रिएका छन् ।

महिना दिनदेखि निर्वाह भत्ता नपाएपछि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले बिहीबारदेखि काम छाडेका छन्। महाराजगञ्ज मेडिकल क्याम्पसमा एमडी एमएस र एमसीएचलगायतका विषयमा अध्ययनरत आवासीय चिकित्सकहरूले नियमअनुसार आफूहरूले पाउँदै आएको भत्ता रोकिएको भन्दै दबाव दिनका लागि काम छाडेको बताएका छन्।

नेशनल रेजिडेन्टस डक्टर्स एसोशिएसनका अध्यक्ष डा. सुमित पाण्डेका अनुसार केही दिन अघिदेखि आफूहरूले सरोकारवलालाई ध्यानाआकर्षण गराएको तर आफ्नो माग सुनुवाइ नभएपछि आफूहरूले काम छोड्न बाध्य भएको बताइन्। उनले भने ’हामीले पाउँदै आएको भत्ता रोकिएपछि क्याम्पसको ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरियो।

काठमाडौंको महंगीमा यति लामो समयसम्म भत्ता रोकिदा दैनिक गुजारामा समेत अफ्ठ्यारो पर्न थालेको छ। त्यसैले दबाव स्वरूप आजदेखि हामीले ड्युटी छोडेका हौँ।’ उनका अनुसार हाल शिक्षण अस्पतालमा करीब २०० आवासीय चिकित्सकहरूले काम गर्दै आएका छन्।
एमडीएमएस निःशुल्क गरेको सरकारले सो तहमा अध्ययन गर्ने विद्यार्थीलाई आवासीय सुविधा तथा निर्वाह भत्ता भनेर मासिक ३३ हजार ७ सय रुपैयाँ उपलब्ध गराउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement