तत्काल निर्वाचनको घोषणा गर्न भेनेजुयलालाई स्पेनको आग्रह


काठमाडाैं–भेनेजुयलाको राजनीतिक विवादले उग्र रूप लिइरहेका समय राष्ट्रपति निकोलास मदुरोलाई तत्काल निर्वाचनको मिति तय गर्न स्पेनले शनिबार भेनेजुयलालाई आग्रह गरेको छ ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले भेनेजुयलाका राष्ट्रपति मदुरोलाई आठ दिन भित्र निर्वाचनको मिति तोक्न आग्रह गर्नुभएको हो । सान्चेजले वर्तमान् नेतृत्वले आठ दिन भित्रमा निर्वाचनको मिति नतोके स्पेनले विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिने बताए।

“यदि आठ दिनभित्र भेनेजुयलामा स्वच्छ, स्वतन्त्र र पारदर्शी निर्वाचनको आह्वान नगरिए स्पेनले प्रतिपक्षी नेता हँुवा गुइदोलाई राष्ट्रपति रूपमा मान्यता दिनेछ,” स्पेनी प्रधानमन्त्री सान्चेजले भने ।

भेनेजुयलाका प्रतिपक्षी नेता गुइदोले बुधबार आफैलाई “अन्तरिम राष्ट्रपति” घोषणा गरेका थिए । घोषणालाई अमेरिका तथा दक्षिण अमेरिकाका अन्य राष्ट्र पेरू, ब्राजिल, कोलम्बियाले मान्यता दिएका छन् । यूरोपेली मुलुकहरू जर्मनी र फ्रान्सले पनि विपक्षी नेतालाई सधाउने सङ्केत गरिसकेका छन् ।

तर टर्की, रसिया, चीन भने मदुरोको पक्षमा देखिएका छन् । मदुरोलाई मेक्सिको, क्युबा र बोलिभियाका बामपन्थी सरकारहरूले विगतमा झैँ समर्थन यथावत् रहेको जनाएका छन् भने कतिपय मुलुकहरू यसबारे बोलिसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement