भेनेजुएलाको तरङ्ग नेपालसम्म : यस्तो छ सरकारको धारणाले दिएको संकेत


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्याण्ड भ्रमणमा रहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएला संकटबारे विज्ञप्ति जारी गरे ।

विज्ञप्तिमा प्रचण्डले अमेरिकाको साम्राज्यवादी र हस्तक्षेपकारी नीतिको कडा विरोध गर्दै आन्तरिक मामिलालाई देशभित्र समाधान हुन दिन आग्रह गरे । असान्दर्भिक र अनावश्यक रुपमा विज्ञप्ति जारी गरेको भनेर ‘मौनतावादी’ बुद्धिजीवीले प्रचण्डको आलोचना गर्न समेत भ्याए ।
विश्वको कुनै एउटा किनारामा रहेको देशका लागि नेपालका सत्तापक्षीय नेताले विज्ञप्ति निकालेर अमेरिकालाई बिच्क्याउनु उचित नभएको तर्क गरियो ।

विश्वमा शक्तिशाली मानिएको अमेरिकाको अनुहार हेरेर हस्तक्षेपकारी नीतिविरुद्ध बोल्न नहुने तर्क गरिए । आर्थिक र आणविक शक्तिको आँडमा अमेरिकाले कमजोर देशमाथि हस्तक्षेप र आक्रमण गर्दै मोर्चाबन्दी गर्दा टुलुटुलु हेरेर कसरी बस्न सकिएला र ?

प्रचण्ड विद्रोहबाट जन्मिएका नेता भएकाले पनि उनको स्वभाव नै बाह्य हस्तक्षेप र साम्राज्यवाद विरोधी हो । सशस्त्र द्वन्द्व र शान्तिप्रक्रियामा आएपछि पनि प्रचण्डको निशानामा साम्राज्यवाद, विस्तारवाद र बाह्य हस्तक्षेप गर्दै आएको छ । नेपालमा समेत अदृश्य शैलीमा बाह्य हस्तक्षेप हुँदा प्रचण्डले कडा प्रतिवाद गर्ने गरेका छन् । जुन स्वभाव पछिल्लो पटक भेनेजुएला संकटमा प्रतिविम्बित भएको छ ।

के भने प्रचण्डले ?
प्रचण्डले अंग्रेजीमा जारी गरेको विज्ञप्तिमा नेकपा भेनेजुयलाका जनताको पक्षमा रहेको स्पष्ट पारेका थिए । अमेरिकाले जननिर्वाचित राष्ट्रपति निकोल मादुरोलाई अपदस्त गर्दै विपक्षी नेतालाई सडकबाट राष्ट्रपति घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायबाट अनुमोदन गराउन खोजिरहेको छ ।

‘भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीहरूले गरेको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिका रुपमा जुआन गुआइडोको स्वघोषणलाई अमेरिका र क्षेत्रीय राष्ट्रहरूले तत्काल मान्यता दिनुले प्रष्टरुपमा निर्वाचित राष्ट्रपतिविरुद्ध ठूलो ग्रान्ड डिजाइन भएको देखिन्छ । यो अरुको आन्तरिक मामलामा घुसपैठ गर्ने प्रयास मात्र नभएर कुको प्रयास हो । यो हामीलाई अस्वीकार्य छ ।’

अमेरिकाले भेनेजुयलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने तथा प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौति दिने काम गरेको प्रचण्डको आरोप थियो । प्रचण्डको विज्ञप्तिसँगै नेकपा प्रजातान्त्रिक तवरबाट चुनिएका राष्ट्रपति मादुरोको पक्षमा उभिएको थियो ।

प्रचण्डको विज्ञप्तिसँगै भेनेजुएलाको तरङ्ग नेपाल प्रवेश गरेको हो । प्रचण्डको विज्ञप्तिमा ध्यानाकर्षण भएको जनाउँदै नेपालस्थित अमेरिकी दूतावासले सरकारको धारणा माग गरेको थियो । अमेरिका दूतावास सक्रिय भएपछि मौनतावादी विश्लेषकले अमेरिकासँग सम्बन्ध बिग्रिने चिन्ता समेत व्यक्त गरे ।

प्रधानमन्त्री ओली स्वदेश फर्किएकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डको विज्ञप्ति र भेनेजुएला संकटबारे प्रश्न सोधियो । तर ओलीले प्रचण्डको विज्ञप्ति नपढेको भन्दै स्पष्ट जवाफ दिएनन् ।

जवाफ नपाएपछि धेरैले अनुमान गर्न थाले कि ओलीले प्रचण्डको विज्ञप्तिबाट सरकारलाई अलग राख्न खोज्यो । तर यो अनुमान केही दिनमै गलत भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारको आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

सरकारको धारणाले दिएको संकेत
सरकारले भनेजुएलामा देखिएको राजनीतिक समस्याको समाधान बाह्य हस्तक्षेप विना हुनुपर्ने बताएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेप विना समाधान हुनुपर्ने बताएको हो ।

‘देशको राजनीतिक र संवैधानिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार भेनेजुयलाका नागरिकसँगै छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । परराष्ट्रको विज्ञप्तिले सरकारको धारणा स्पष्ट पारेको छ भने नेकपा पार्टी अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिलाई आधिकारिक धारणाको रुपमा पुष्टि गरेको छ ।

प्रचण्डको विज्ञप्तिमा टेकेर केही अस्थिरतावादीले ओली–प्रचण्डबीच भाँजो हाल्न समेत खोजेका थिए । तर प्रचण्डको दूरदर्शितालाई सरकारको विज्ञप्तिले प्रष्ट्याएको छ । सँगसँगै विस्तारवादी र साम्राज्यवादी चरित्र जोसुकैले देखाएपनि सबैले सामुहिक प्रतिवादमा उत्रिनुपर्ने सन्देश दिएको छ ।

अमेरिकाले साम्राज्यवादी चरित्र देखाउँदा चुप लाग्नुपर्ने र अरु कसैले देखाउँदा बोल्नुपर्ने भन्ने तर्क न्यायसंगत हुँदैन । राजनीतिक र कूटनीतिमा पात्र वा देशभन्दा पनि प्रवृत्ति महत्त्वपूर्ण हो । प्रचण्ड र परराष्ट्रको विज्ञप्तिले अमेरिका देश वा त्यहाँका जनताको विरोध गरेको होइन, अमेरिकाकी प्रशासनले भेनेजुएलाविरुद्ध देखाइरहेको रवैया र प्रवृत्तिको विरोध गरेको हो ।

साम्राज्यवादी चरित्रले जुनसुकै बेला, जोसुकै कमजोर मुलुकमाथि गिद्देदृष्टि लगाउन सक्नेतर्फ सबै विश्व समुदाय सचेत हुनुपर्छ । नेकपा नेतृत्व र सरकारले विश्व शान्तिको वातावरण बनाइराख्न कूटनीतिक मर्यादा देखाउँदै सचेतता व्यक्त गरेको छ । जुनसुकै देशले पनि अर्का देशमाथि धावा बोल्दा विश्व विभाजित भएर अशान्ति फैलिन सक्ने खतरा हुन्छ । अमेरिकाले यस्ता क्रियाकलाप रोक्नुपर्ने स्पष्ट सन्देश विश्व समुदायबाट प्रवाह भइरहेको छ ।

के हो भेनेजुएला संकट ?
भेनेजुएलामा राजनीतिक र आर्थिक संकट चुलिएका बेला अमेरिका प्रवेश गरेर हस्तक्षेप गर्न खोजेको छ । केही महिनाअघि भएको निर्वाचनबाट निकोलस मादुरो राष्ट्रपति निर्वाचित भएका छन् । तर विपक्षी दलले अमेरिकाको समर्थनमा राष्ट्रपति मादुरोलाई अपदस्थ गर्ने प्रयास गरिरहेको छ । निर्वाचित सरकारविरुद्ध विपक्षी दलले आन्दोलन गरिरहेका छन् ।

गत बुधबार विपक्षी नेता गोइदोले एक विरोध प्रदर्शनका दौरान आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका छन् । गुइदोले अर्को चुनाव नभएसम्म आफू अन्तरिम राष्ट्रपति रहने दाबी गरेका छन् । गुइदोलाई अमेरिकाले उचाल्दै विश्वभर अनुमोदन गराउन खोजेको छ । अमेरिका र विपक्षी नेताले सेनालाई आफ्नो पक्षमा पार्न खोजेपनि सेना जननिर्वाचित राष्ट्रपति मादुरोकै पक्षमा छ ।

अमेरिकाले आन्तरिक राजनीतिमा हस्तक्षेप गरेपछि मादुरोले अमेरिकासँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका छन् । उनले अमेरिकी राजदूतलाई ७२ घण्टाभित्र देश छाड्ने समय दिएका छन् । भेनेजुएला संकट विश्वभर फैलिँदैछ । जननिर्वाचित मादुरो सरकारलाई समर्थन गर्ने देशमा रसिया, चीन, मेक्सिको, बोलिभिया, क्युवा, टर्की लगायत छन् ।

तर ल्याटिन अमेरिकाका एक दर्जनभन्दा बढी देशले विपक्षी दलका नेता गोइदोलाई राष्ट्रपतिमा समर्थन जनाएका छन् । गोइदोको पक्षमा ब्राजिल, कोलम्बिया, चिली, पेरु, एक्वेडर, अर्जेन्टिना र पाराग्वे देखिएका छन् । क्यानडा र युरोपियन युनियन स्वतन्त्र चुनावको पक्षमा छ ।

अमेरिका लगायत २० देशले विपक्षी नेता गोइदोलाई अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् । शनिबार केही युरोपेली देशले ८ दिनभित्र चुनाव गराउने घोषणा नगरिए गोइदोलाई राष्ट्रपतिको मान्यता दिने चेतावनी दिए ।

चेतावनी दिनेमा युरोपेली देश स्पेन, जर्मनी, फ्रान्स र ब्रिटेनसमेत छन् । भारतले भने स्पष्ट कित्ताकाट नगरेपनि आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने भन्दै अमेरिकालाई हस्तक्षेप नगर्न सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement