काठमाण्डु– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको भायानेटले जनाएको हाे । कम्पनीले विपद्का बेला राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुर्याउनु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको बताएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको सहयोगले रसुवा बाढी प्रभावित नागरिकका लागि सञ्चालन भइरहेका सरकार नेतृत्वको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
भायानेटले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न मानवीय सहायता संस्थाप्रति आभार व्यक्त गरेको छ।
विपद्को यस घडीमा प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि भायानेटले जनाएको छ।




प्रतिक्रिया