उपराष्ट्रपति पुनले भने– चीनविरुद्ध नेपाली भूमि कुनै हालतमा प्रयाोग गर्न दिदैनौं


काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्रा्ष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्रा्ष्ट्रिय सहकार्य मञ्चलाई बिहिबार सम्बोधन गर्दै उनले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताए ।

चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्वारा निर्देशित छिमेक कूटनीतिको प्रसंशा गर्दै उपराष्ट्रपति पुनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिरहेकाले त्यसमा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको छ भने ।

त्यस्तै उनले सन् २००० देखि आयोजना भइरहेको मेलाले चीन तथा सहभागी मुलुकहरुलाई व्यापार, लगानी, प्रविधि र पर्यटनका क्षेत्रमा जोड्न सहयोग गरेको पनि बताए ।  ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिवद्ध छ । चीनले अवलम्बन गरिरहेको मित्रता, सदासयता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तहरुद्वारा निर्दे्शित छिमेक कूटनीतिको हामी प्रशंसा गर्दछौं’ उपराष्ट्रपति पुनले सम्बोधनका क्रममा भने ।

समय समयमा भएका उच्चस्तरीय भ्रमणहरुको आदान प्रदानबाट द्विपक्षीय सम्बन्ध थप मजबुत र फराकिलो हुँदै गएको भन्दै उनले पछिल्लो केही वर्षयता दुई देशबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएको बताए ।  त्यसक्रममा उपराष्ट्रपति पुनले जनवादी गणतन्त्र चीन स्थापना भएको सय वर्ष पुगेको अवसरमा सन् २०४९ सम्म चीनलाई महान् आधुनिक समाजवादी मुलुक बनाउने लक्ष्यको प्रशंसा गरे ।

चीनका राष्ट्रपतिले बेल्ट एण्ड रोड ईनिसियटिभ (बिआरआई) मार्फत् सम्बद्ध राष्ट्रहरुबीच सहयोग अभिवृद्दि गरी मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणका लागि अगाडि सारेको विचारको स्वागत गर्दै बिआरआईमा शान्ति, सहयोग, समावेशीता, आपसी सिकाइ, आपसी लाभ र सबैको जित जस्ता भावना समाविष्ट भएकोले इनिसिएटिभमा सामेल हुन पाएकोमा खुशी व्यक्त गरे ।

नेपालका लागि निर्यात व्यापार विस्तार, जलविद्युत, कृषि, पर्यटन तथा लगानी प्रवद्र्धन प्राथमिकताका क्षेत्रहरु हुन् । त्यसैगरी सडक सञ्जाल, रेलवे, उर्जा उत्पादन एवम् यसको वितरण जस्ता आधारभूत पूर्वाधारहरुको निर्माण एवम् सीमा वारपार रेलवे, राजमार्ग, सञ्चार, ट्रान्समिसन लाईन लगायतका क्षेत्रमा विकास गर्ने तथा व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्य पुरा गर्न बृहत् लगानी, उन्नत प्रविधि, अनुभवको आदान प्रदान, वस्तु विनिमयमा सहकार्यको जरुरी भएको उपराष्ट्रपति पुनको जोड छ ।

समारोहलाई चीनका उपप्रधानमन्त्री हु छिन्ह्वा, चिनियाँ कम्यूनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सेक्रेटरी पेङ्ग छिङहुवा र ईटालीका उपप्रधानमन्त्रीले पनि सम्बोधन गरेका थिए । उनले सडक सञ्जाल, रेल्वे, ऊर्जा उत्पादन एवं यसको वितरणजस्ता आधारभूत पूर्वाधारको निर्माण एवं सीमा वारपार रेल्वे, राजमार्ग, सञ्चार, प्रसारण लाइनलगायतका क्षेत्रमा विकास गर्ने लक्ष्य रहेको बताउँदै व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्यसमेत रहेको उल्लेख गरे ।

उनले सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट आएका लगानीकर्तालाई नेपालमा उपलब्ध लगानीका प्रचुर सम्भावनाबाट फाइदा लिन र लगानी गर्न आग्रह गरे । “नेपालको प्रचलित ऐन कानून र नीति लगानीमैत्री रहेका छन् । विदेशी लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । आर्जित मुनाफालाई शतप्रतिशत स्वदेश लैजान पाउने सुविधाको कानूनी व्यवस्था गरिएको छ । नेपालमा लगानी गरेर तपाईहरूलाई लाभ नै हुनेछ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु”, उनले भने । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको सन्दर्भमा नेपाल भ्रमणका लागि चिनियाँ नागरिकमाझ प्रचारप्रसार गरिदिन चिनियाँ पर्यटन व्यवसायीलाई उपराष्ट्रपति पुनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement