बिमस्टेक सम्मेलनमा सहभागी हुने भीभीआईपीका लागि १२ वटा बुलेटप्रुफ गाडी भाडामा


काठमाडौं – भदौ १४ र १५ गते हुन गईरहेको बिमस्टेक सम्मेलनमा सहभागी हुने सदस्य देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि सरकारले १२ वटा बुलेटप्रुफ भाडामा लिएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी भीभीआईपीका लागि बुलेटप्रुफ गाडी भाडामा लिनका लागि अर्थ मन्त्रालय गृह मन्त्रालयलाई दुई करोड निकासा दिएको छ ।

सम्मेलनमा सहभागी हुने नेपाल बाहेकका ६ देशका राष्ट्रप्रमुखसहित दोस्रो वरीयतामा रहने भीआईपीलाई पनि बुलेटप्रुफ गाडी उपलब्ध गराइने गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिए । गाडी भाडामा लिनका लागि अर्थ मन्त्रालयबाट रकम निकासा भईसकेको उनले बताए ।

‘सम्मेलनमा आउने राष्ट्र प्रमुख तथा सरकार प्रमुख र उहाँपछिको दोस्रो वरीयतामा रहने श्रीमान श्रीमती वा अन्य व्यक्तिलाई पनि बुलेटप्रुफ गाडी उपलब्ध गराइने छ,’ उपसचिव अधिकारीले भने । उनका अनुसार कारकेडसहित १ देशको प्रतिनिधिमण्डललाई अन्य १२ देखि १५ वटा गाडी उपलब्ध गराईनेछ ।

अध्यक्ष राष्ट्रका हैसियतले नेपालले बिमस्टेकको चौथो सम्मेलन आयोजना गर्न लागेको हो । काठमाडौंमा हुने सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानन्याधीश योङ ओ छिरिङ वाङ्चो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति युमिन मिच, श्रीलंकन राष्ट्रपति मेट्रीपाला श्रीसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement