भिजिट भिसामा सेटिङ : कागजात शंकास्पद भन्दै प्रहरीले रोक्यो १९७ जना


काठमाण्डु –  प्रहरीले भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । पछिल्लो समय विमानस्थल हुंदै खाडी मुलुक जानेको संख्या बढिरहेको छ । अध्यागमन विभागका कर्मचारीसंगको मिलेमतोमा मेनपावर व्यवसायीहरुले सेटिङमा खाडी मुलुक पठाइरहेको स्रोतको दावी छ ।

‘विमानस्थलमा माथिदेखि नै तलसम्म सेटिङमा पठाउने काम भइरहेको छ । यसमा मिलेमतोका आशंका छ । सर्वसाधारणबाट पैसा असुलेर पठाउने र त्यहां गएर अलपत्र पार्ने काम भइरहेको छ । ’ स्रोतले काठमाण्डुपाटीलाई भन्यो ।

विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख अहिले पुष्प शाही छन् । उनि लामो समयदेखि त्यही कार्यरत छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाइन खुला गरेको भन्दै चेतावनी दिएपनि अहिले पनि त्यही कामले निरन्तरता पाइरहेको छ । शाहीलाई अख्तियारले यसअघि सचेत समेत गराएको थियो । उनि अहिलेको कांग्रेस संस्थापनको निकट कर्मचारीका रुपमा चिनिन्छन् । शाही विमानस्थलमा गएसंगै मानव तस्करी मौलाएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीको पोष्टिङ भएसंगै अहिले भिजिट भिसामा खाडी मुलुक जानेमाथि कडाइ गरिएको छ । उनले सरकारले यसअघि जारी गरेको परिपत्रलाई कडाईका साथ लागु गरिएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बुधबारदेखि नै १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको छ । रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन्। महिलाहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

विमानस्थल प्रहरीले उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा बुझाएको छ । भिजिट भिसामा खासगरी दूवई,कतार र मलेसिया पठाउने काम भइरहेको छ ।

दलालहरुले प्रति व्यक्ति चारदेखि पांच लाख सम्म असुल्ने गरेको र दूवई लगेर अलपत्र पार्ने गरेको गुनासो छ । कतिपयले भने दूवईमा भिजिट भिसामा गएर काम पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement