भलिबल च्याम्पियनसिप : एपीएफ क्लब र न्यू डायमण्ड फाइनलमा


काठमाडौं – लसशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको सेमिफाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० सेटले तथा न्यू डायमण्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० सेटमै पराजित गरेको हो ।

एपीएफले पुलिस क्लबलाई २५–१५,२५–१६ र २५–२२ अङ्कले हराएको हो । यस्तै न्यू डायमण्डले आर्मी क्लबलाई २५–१५, २५–२२ र २५–१३ अङ्कले पराजित गरेको हो । महिला भलिबलको फाइनल खेल शुक्रबार हुने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । महिला भलिबलतर्फ तेस्रो स्थानका लागि आर्मी र पुलिसबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement