उपराष्ट्रपति पुन ६ दिने औपचारिक भ्रमणका लागि आज चीन जाँदै


काठमाडौं – छ दिने औपचारिक भ्रमणका लागि उपराष्ट्रपति नन्दबहादुर पुन (आज) बुधबार चीन प्रस्थान गर्दै छन्। उनी बिहान १०ः४० बजे एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा बिहीबारदेखि सुरु हुने ‘१७ औँ पश्चिम चीन अन्तर्रा्ष्ट्रिय मेला’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेका हुन् । उनले बिहीबार अन्तर्रा्ष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति पुनले भ्रमणका क्रममा ‘एक क्षेत्र एक मार्ग’(बिआरआइ) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने छन् । चीनमा रहँदा चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ । उनले सिचुवानको विकासे परियोजना लगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नेछन्।

उपराष्ट्रपतिको भ्रमण टोलीमा उनकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, उपराष्ट्रपतिका विज्ञ जीवन आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्ववर्ती प्रमुख सेनानी अरुण कुमार केसी रहनेछन्।

यसैगरी परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल रामबाबु ढकाल, नेपाली सेनाका सेनानी प्रयोजन श्रेष्ठ, परराष्ट्र मन्त्रालयकी शिष्टाचार अधिकृत ईन्दिरा गोहिवार उपराष्ट्रपतिको भ्रमण टोलीमा समावेश छन्। उपराष्ट्रपति चीन भ्रमण सकेर असोज ८ गते बिहान काठमाडौं आइपुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement