चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : यसअघि सुटुक्क नगरकोट र चन्द्रागिरी हाइकिङ गएका वाङ यो पटक कहाँ जालान ?


काठमाण्डु- चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी शुक्रबार नेपाल आउँदैछन् । नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको महिना दिनमै चिनियाँ विदेशमन्त्री नेपाल आउन लागेका हुन् । तिन दिने भ्रमणको उनी सिलसिलमा पाकिस्तान, भारत हुँदै शुक्रबार नेपाल आइपुग्ने छन् ।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण सधै विशेष रहने गर्छ । यसपटक शुक्रबारबाट सुरु हुने वाङको नेपाल भ्रमण अझ विशेष हुनेछ, कारण हो– उनी यस्तो बेला नेपाल आउँदै छन् जसको केही साता अघि मात्र चीनको विरोधका बाबजुद नेपालको संसदले ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० अनुमोदन गरेको थियो । वाङले विदेशमन्त्रीको रुपमा यसअघि दुई पटक नेपालको भ्रमण गरिसकेका छन् ।

नेपाल भ्रमण गर्दा उनी सुटुक्क काठमाडौं वरपरका पहाडमा हाइकिङ जाने गरेका छन् । उनको विगतको भ्रमणमा यस्तै देखिएको थियो । वाङले चिनियाँ विदेशमन्त्रीको रुपमा पहिलो पटक सन् २०१४ को डिसेम्बरमा नेपालको भ्रमण गरेका थिए । त्यतिबेला उनले झक्तपुरको नगरकोट पुगी हाइकिङ गरेका थिए । वाङ यीले आफ्नो हाइकिङ कार्यक्रम गोप्य राख्ने गरेका छन् ।

भ्रमणको तारतम्य मिलाउने कमैलाई मात्र यो जानकारी दिने गरिएको छ । सन् २०१४ को डिसेम्बरमा उनी हिंड्दै नगरकोटको भ्यु टावर पुग्दा कमैले मात्र उनी त्यहाँ जाने कार्यक्रम रहेको थाहा पाएका थिए । उनी सूर्योदय र सूर्यअस्त अवलोकन गर्न नगरकोट पुगेका थिए । सो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने वित्तिकै उनी सिधै नगरकोट पुगेका थिए ।

पछि मात्र थाहा भयो नगरकोटमा उनले क्लब हिमालय रिसोर्टमा १५ वटा कोठा बुक गरिसकेका रहेछन् । उनी रिसोर्टबाट भ्यु टावरसम्म एक घण्टा हाइकिङ गरेका थिए । ‘यति ठूलो विदेशी पाहुना यसअघि नगरकोटमा बस्नेगरी कोही पनि आउनु भएको थिएन । चिनियाँ विदेशन्त्री वाङ यी नै नगरकोटमा आउनु भएको सबैभन्दा उच्चस्तरको विदेशी पाहुना हुनुहुन्छ,’ आठ बर्ष अघि वाङ यी नगरकोट पुग्दा क्लब हिमालय रिसोर्टका तत्कालिन महाप्रबन्धक विकास शाक्यले भनेका थिए ।

वाङ चिनियाँ विदेशमन्त्रीको रुपमा दोस्रो पटक सन् २०१९ सेप्टेम्बर दोस्रो साता नेपालको भ्रमण गरेका थिए । त्यतिबेला पनि उनी सुटुक्क हाइकिङमा निस्केका थिए । सन् २०१९ मा काठमाडौं आइपुगेको भोलिपल्ट उनी केबुलकारमा चन्द्रागिरी पुगी त्यहाँबाट मातातिर्थ भञ्ज्याङसम्म हाइकिङ गरेका थिए । उनी चन्द्रागिरी पुग्नु अघिल्लो दिनसम्म केबुलकारका वरिष्ठ कर्मचारीलाई समेत वाङ आउनेबारे जानकारी दिइएको थिएन ।

मातातिर्थ भञ्ज्याङबाट हाल सञ्चालनमा नरहेको रोपवेको भग्नावशेष अवलोकन गरी उनी चन्द्रागिरी नै फर्केका थिए । उनले करिव डेढ घण्टा हाइकिङ गरेका थिए । वाङ चिनियाँ विदेशमन्त्रीको रुपमा शुक्रबार तेस्रो पटक नेपाल आउँदै छन् । यसपटक उनले तीन दिन नेपालमा बिताउने छन् । अघिल्ला भ्रमणको बेला नगरकोट र चन्द्रागिरी पुगका उनी यसपटक कुन ठाउँको हाइकिङ गर्लान् भन्ने चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement