नेपालसहित ५ देशका प्रतिनिधिसँग अमेरिकी उप–विदेशमन्त्री शेरमनले गरिन् संयुक्त भेटवार्ता  


काठमाण्डु – अमेरिकी उप–विदेशमन्त्री विन्डी आर शेरमनले बिहीबार दक्षिण एसियाका नेपालसहित पाँच देशका प्रतिनिधिहरूसँग संयुक्त रुपमा साइडलाइन भेटवार्ता गरेकी छन् । आज उप-विदेशमन्त्री शेरमनले संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभा अन्तर्गत एसियाका नेपालसहित पाँच देशका प्रतिनिधिहरुसँग संयुक्त रुपमा साइडलाइन भेटवार्ता गरेकी हुन् ।

उक्त भेटवार्तामा नेपालको तर्फबाट न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि स्थायी नियोग प्रमुख अमृतकुमार राई उपस्थित थिए । भेटवार्तापछि  उप-विदेशमन्त्री शेरमनले समाजिक सञ्जाल ट्वीटमार्फत बंगलादेश, भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकासँग परामर्श गर्न पाउँदा आफूलाई खुसी लागेको बताइन् ।  

उनले अमेरिकाको दक्षिण एसियासँगको साझेदारी आफ्नो र हिन्द प्रशान्त क्षेत्रका जनताहरुको सुरक्षा र समृद्धिको लागि अत्यन्तै संवेदनशील रहेको उल्लेख गरेकी छन् । दक्षिण एसियाका तीन मुलुक भारत, पाकिस्तान र अफगानिस्तानका प्रतिनिधि बाहेक उक्त बैठक भएको थियो ।

शेरमनले सो बैठकमा लोकतान्त्रिक सिद्धान्तहरुलाई अघि बढाउनुका साथै कोभिड–१९, आर्थिक सुधार र जलवायु परिवर्तनलगायतका विश्वव्यापी चुनौतीहरुलाई कसरी सम्बोधन गर्ने विषयमा छलफल गरेको उल्लेख गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement