रअ प्रमुखमा गोयलले नै निरन्तरता पाउने सम्भावना , अरु को-को छन् प्रतिस्पर्धामा ?


काठमाण्डु– भारतीय खुफिया एजेन्सी (रअ)का प्रमुख सामन्तकुमार गोयलको पदावधि थप हुने सम्भावना बढेको छ । गोयलको थप गरिएको पदावधि यही जुन ३० मा सकिदैछ । तर, अहिलेसम्म पनि भारत सरकारले उनको विकल्पमा नयां नियुक्ती नगरेपछी गोयलले नै निरन्तरता पाउने सम्भावना बढेर गएको छ ।

यसअघि भारतमा रअको प्रमुखको पदावधि सकिनुभन्दा एक महिना अघि नै नयां प्रमुख नियुक्त गर्ने चलन थियो । भारत सरकारले गोयललाई जुन ३०, २०२१ बाट लागु हुनेगरी एक वर्षको लागि म्याद थप गर्ने निर्णय गरेको थियो ।

उनको फेरी पनि म्याद थप हुन सक्ने चर्चा दिल्लीमा छ । भारतको केन्द्र सरकारले गृहसचिव,रअ,आईवी प्रमुख र सिआईबी प्रमुखको पदावधी ५ वर्ष बनाउने निर्णय गरिसकेको छ । यसैमा टेकेर गोयललाई पनि चुनावसम्म राख्न सक्ने सम्भावना छ ।

यसअघि गोयलसंगै आईवीका चिफ अरविन्द कुमारको पनि एक वर्ष थप भएको थियो । गोयल आइपिएस अफिसर हुन् । रअका प्रमुख गोयलको पदावधी एक वर्ष थप भए उनि लामो समय पदमा रहने गूप्तचर अधिकारी बन्नेछन् ।

रअका संस्थापक रहेका रामेश्वरनाथ काओ सबैभन्दा लामो समय १९६८ देखी १९७७ सम्म पदमा बसेका थिए । त्यसपछी नौशेरवन फ्रामजी सुनटेक १९७७ मा ५३ वर्षको उमेरमा रअको प्रमुख बनेका थिए । सुनटेक समेत ५ वर्ष १० महिना पदमा बसे ।

रअका प्रमुख विक्रम सुद र ए एस स्याली समेत तीन वर्षभन्दा बढी संगठनको प्रमुख बनेका थिए । गोयलको पदावधि थप नभए श्रीधर राव, भारतीय प्रहरीको छत्तिसगढ क्याडरका रवी सिन्हा र हाल सिविआईका प्रमुख रहेका सुवोध कुमार जैसवालमध्ये एक जनाको रअको प्रमुख बन्ने सम्भावना रहेको बताइन्छ । रअकै डेपुटी रहेका एसविएस टोमर समेत प्रमुख बन्ने रेसमा छन् । यद्यपी तोमरले समेत ३० मे मा अवकास पाइसकेका छन् ।

रअको प्रमुखको प्रतिस्पर्धामा रहेका राव एभियसन रिसर्च सेन्टरमा कार्यरत छन् । यो भारतको सुपर सिक्रेट संगठन हो । जसले भारतको सीमा क्षेत्रमा इमेजिंग र संचारको जानकारी जम्मा गर्ने काम गर्छ । यसअघि रअका प्रमुख रहेका सुद पनि यही संस्थाबाट प्रमुख बनाइएका थिए ।

रअको प्रमुखको लागि यसअघि समेत दावेदार रहेका पाकिस्तान विज्ञ आर.कुमार र नेपालमा स्टेशन चिफ बसेर दिल्ली फर्केका अवजित हल्दार थिए । उनिहरु दुवै जनाले अवकास पाएपनि अहिले पनि कन्ट्रयाकमै काम गरिरहेका छन् ।

गोयल यसअघि नेपाल र भारतबीच सीमा विवाद हुंदा नेपाल भ्रमणमा आएका थिए । उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भेटेको विषयले विवाद सिर्जना गरेको थियो ।

रअले नेपालको आन्तरिक मामिलामा चांसो राख्दै आएको बताइन्छ । यसका काठमाण्डु स्टेशन प्रमुख राधव भट्नाकर र सेकेण्ड म्यान अनिल गिरी राजनीतिक वृतमा उथल पुथल हुने वित्तिकै सक्रिय बन्ने गरेका छन् । उनिहरु प्रमुख पार्टीका शिर्ष नेताहरुको बेडमै पुग्ने गरेको सुरक्षा स्रोत बताउंछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement