दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार

दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम तथा विकट क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको उद्धारका लागि हवाई सेवा सञ्चालन गर्दै आएको छ ।

मन्त्रालयका अनुसार कार्यक्रमले स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नभएका तथा सडक पहुँच कमजोर रहेका क्षेत्रमा बसोबास गर्ने महिलाहरूलाई समयमै उपचार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ ।

विशेषगरी आकस्मिक अवस्थामा पर्ने गर्भवती तथा सुत्केरी महिलालाई जीवनरक्षा गर्ने उद्देश्यले नेपाली सेनासँगको सहकार्यमा उद्धार कार्य सञ्चालन गरिँदै आएको छ ।

यसै क्रममा वैशाख ३ गते रुकुम पश्चिम जिल्लाका २ जना महिलाको सफल उद्धार गरिएको मन्त्रालयले जनाएको छ । त्रिवेणी गाउँपालिका–७ की २४ वर्षीया र मुसिकोट नगरपालिका–२ की २२ वर्षीया गर्भवती/सुत्केरी महिला तथा नवजात शिशुको अवस्था जटिल बनेपछि तत्काल उद्धारको आवश्यकता परेको थियो ।

घटनामा नेपाली सेनासँगको समन्वय तथा सहकार्यमा हेलिकोप्टरमार्फत उनीहरूलाई उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा सुरक्षित रूपमा पुर्‍याइएको मन्त्रालयले जनाएको छ । हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकीय निगरानीमा उपचार भइरहेको जानकारी दिइएको छ ।

मन्त्रालयले यस्तो कार्यक्रमले दुर्गम क्षेत्रमा मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको जनाएको छ । आगामी दिनमा पनि यस्ता उद्धार कार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।