काठमाण्डु –थाइल्यान्डमा जारी आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोटको सुपर ३ चरणमा सोमबार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ।
छनोटको सुपर ३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो।
खेल बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।
नेपाल समूह सीको विजेताको रूपमा, यूएई समूह बीको विजेता र थाइल्यान्ड समूह एको विजेताको रूपमा सुपर-३ मा प्रवेश गरेका हुन् ।
यूएईसँगको खेलपछि नेपालले सुपर ३ अन्तर्गत आफ्नो दोस्रो खेल मङ्गलबार आयोजक थाइल्यान्डसँग खेल्ने तालिका छ। यस चरणमा सहभागी तीनवटै टोलीले एकआपसमा एक/एक खेल खेल्नेछन्।
शीर्ष दुई स्थानमा रहने टोलीले आगामी महिला टी-२० विश्वकपको विश्वव्यापी छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन्।
प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहनेछ।
अब एसिया, यूरोप, अफ्रिकाका र पूर्वी एसिया प्यासिफिक क्षेत्रबाट विश्वस्तरीय छनोट खेल्ने टिमको टुंगो लाग्नेछ।
प्रतिक्रिया