घुम्नैपर्ने विश्वका २५ पर्यटकीय गन्तव्यको नयां सूचीमा समावेश भयो काठमाडौं


काठमाडौं – सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं पनि समावेश भएको छ। यात्राबारे जानकारी र विवरण दिन कहलिएको तथा स्थापित अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले काठमाडौंलाई यो भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यमा समाबेश गरेको हो ।



ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृतस्थल हरेक यात्रीले हेर्नैपर्ने स्थानका रुपमा समावेश गरेको छ।

बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौँ, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेललगायत स्थानलाई दर्शनीयस्थलका रुपमा उक्त साइटमा चित्रण गरिएको छ।

संयुक्त अधिराज्यको राजधानी लन्डनलाई पहिलो नम्बरमा समावेश गरिएको छ भने फ्रान्सको प्यारिस दोस्रो, इटलीको रोम तेस्रो, ग्रीसको क्रेट चौँथो र इन्डोनेसियाको बाली पाँचौ नम्बरमा छन्। उक्त साइटले घुम्नैपर्ने शहरको सूचीमा दुबईलाई १०औँ र संयुृक्त राज्य अमेरिकाको महानगर न्यूयोर्कलाई १३औँ स्थानमा राखेको छ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement