सी चिनफिङको नेपाल भ्रमणः ५ हजार सेना हतियारसहित सड्कमा

सी चिनफिङको नेपाल भ्रमणः ५ हजार सेना हतियारसहित सड्कमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चिनियां राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनु एक हप्ता अघि नेपाली सेनाले सुरक्षा गस्ती सुरु गरेको छ । आगामी अक्टोम्बर १२ मा नेपाल भ्रमणमा आउन लागेका राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गरेर सेनाले काठमाडौं उपत्यकामा हतियारसहित गस्ती बढाएको हो । 

नेपाली सेनाका जवानहरु काठमाडौंका मुख्य– मुख्य चोक र राष्ट्रपति हिड्ने सड्क,विमानस्थल र होटलको सुरक्षालाई मध्यनजर गरेर सुरक्षार्थ खटिएका छन् । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले गस्तीमा सेना परिचान भएको बताए ।  

सरकारले सीलाई अति विशिष्टभन्दा माथिको सम्मानका साथ जेड–प्लस सुरक्षा व्यवस्था र सम्मान दिने तयारी गरेको छ । २३ वर्षपछि नेपाल भ्रमणमा आउंन लागेका चिनियां राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाने कार्यक्रम छ । भारतिय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउंदा पनि जेड–प्लस सुरक्षा व्यवस्था अपनाएको थियो ।  

‘सीमाथीको सुरक्षा चुनौतिलाई मध्यनजर गरेर जेड–प्लस सुरक्षा दिन लागेको हौं, अति विशिष्टलाई आवश्यक पर्ने सुरक्षा रणनीति हामी अपनाउंछौं ।’ सेनाका एक उच्च अधिकारीले भने । 

सेनाले महाराजगंज, लाजिम्पाट, कालिमाटी, बानेश्वर विमानस्थल, बौद्ध, स्वयम्भु, जावलाखेल, बालुवाटार र हात्तिसार र फर्फिङबाट उपत्यका छिर्ने नाका र थानकोटमा गस्ती सुरु गरेको हो । उपत्यकामा मात्र करिब पांच हजार सैनिक सुरक्षा गस्तीमा खटिएका छन् । 

राष्ट्रपति सी को नेपाल भ्रमणको औपचारीक तालिका सार्वजनिक नभएपनि उनि असोज २५ गते भारतको चेन्नइबाट विशेष चार्टर्ड विमानमा काठमाडौं उत्रने र एक रात बसेर बेइजिङ उड्ने कार्यतालिका रहेको छ। 

नेपाली सेनाका उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, प्रहरी सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु सम्मिलित संयुक्त सुरक्षा टोली समेत सरकारले बनाइसकेको छ । उक्त टोलीले समेत आवश्यक सुरक्षा प्रवन्धको लागी विभिन्न चरणमा बैठक बसिसकेको छ ।