डोल्पा- यार्चागुन्बु टिप्न डोल्पा उक्लिएका रुकुम (पश्चिम) का १८ वर्षीय भीम परियारले २५ दिन पाटनमा डुल्दा जम्मा पाँचवटा यार्चा भेटाए। कमाउने सपना बोकेर लेक चढेका यी तन्नेरीलाई उल्टै केही हजार रुपैयाँ ऋण लाग्यो। दुःखी मन लिएर गाउँ फर्केका छन् उनी।
यसपालि परियारजस्ता धेरैको सपना तुहियो। थोरैले मात्र यार्चा टिपेर कमाउने अवसर पाए। रुकुम (पश्चिम) को आठबीस गाउँबाट आएका ४३ वर्षे सत्यबहादुर शाहीले पोहोरजति पनि यार्चा संकलन गर्न सकेनन्। ‘जेठ २१ देखि असार १३ गतेसम्म टिप्दा जम्मा ७० वटामात्रै पाएँ’, उनले भने, ‘प्रतिगोटा चार सयदेखि ५ सय रुपैयाँसम्ममा बेचें।’
पोहोर खर्च कटाएर ९० हजार रुपैयाँसहित गाउँ फर्केका थिए उनी। यसपालिचाहिँ १५ हजार रुपैयाँ मात्र लिएर फर्के। उनको गाउँबाट डेढ सयजनाको हाराहारीमा यार्चा संकलन गर्न डोल्पाका पाटन आएका थिए। यसपटक यार्चा संकलन गर्न पाटन पुगेका धेरैको अवस्था शाही र परियारकै जस्तै भयो। उत्पादनभन्दा संकलक धेरै भएकाले यस्तो अवस्था आएको अनुमान गरिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।




प्रतिक्रिया