पूर्वी रुकुममा यार्सा टिप्न जानेको लर्को, २ महिनासम्म विद्यालय बन्द


रुकुम पूर्व – यहाँस्थित पूर्वी क्षेत्रका विद्यालय दुई महिनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महिना बन्द हुने भएका हुन् ।

प्रत्येक वर्ष यार्साको सिजनमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । विशेष गरेर जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका विद्यालय बन्द हुने गर्दछन् । उक्त गाउँपालिकामा रहेका विभिन्न पाटन ९बुकी० मा पाइने यार्सा जेठको दोस्रो सातादेखि टिप्न शुरु हुने गर्दछ । पाटनमा रहेका यार्सा संरक्षणका लागि मैकोटका युवा अहिले त्यसतर्फ गएका छन् ।

हरेक वर्ष जेठको पहिलो साताबाट यार्सा सङ्कलन गर्ने भए पनि यो वर्ष हिउँ भएकाले ढिला गरेर सिजन शुरु हुन लागेको वडा नं १ का अध्यक्ष मकरबहादुर गुरुङले बताए । यार्सा टिप्न जेठको दोस्रो सातादेखि खुल्ला गरिने भए पनि वैशाख अन्तिम सातादेखि नै यहाँका स्थानीयवासी पाटन जाने गर्दछन् ।

स्थानीय सबै यार्सा टिप्न पाटन गएपछि यहाँका विद्यालय आगामी जेठ ४ गतेबाट असार अन्तिमसम्म बन्द गर्ने निर्णय नै गरिएको हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तीमान पुनले जनकारी दिए । शिक्षक तथा विद्यार्थी यार्सा टिप्न पाटन जानेभएपछि विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए ।

यो समयमा विद्यालय बन्द भए पनि वर्षे बिदासँग मिलाइने उनको भनाइ छ । जिल्लाका अन्य ठाउँमा बर्खामा विद्यालय बन्द गर्ने गरे पनि आफूहरुले नगर्ने गरेर अहिले बन्द हुने निर्णय भएको प्रअ पुनले बताए । दुई महिना लामो समयसम्म विद्यालय बन्द हुने गरेपछि यहाँका विद्यार्थीको शैक्षिक प्रगति समेत नहुने गरेको तथ्याङ्कले देखाएको छ ।

विभिन्न बहानामा लामो समयसम्म विद्यालय बन्द हुँदा पनि सरोकारवालाले नदेखेजस्तो गर्दा समस्या उत्पन्न भएको स्थानीयवासी रामविक्रम बुढाको भनाइ छ । शिक्षक आफैं यार्सा टिप्न जानका लागि हातारहतारमा विद्यालय बन्द गर्ने गरेको उनको भनाइ छ ।

जेठ महिनाबाट रुकुम पूर्वका दर्जन बढी माध्यमिक विद्यालय र त्यत्तिकै आधारभूत विद्यालय दुई महिनासम्म बन्द हुने गर्दछन् । यो समयमा यहाँका स्थानीयवासीले ५० हजारदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको बताइएको छ ।

यहाँको प्रमुख आयस्रोत मानिने यार्सा टिप्न यहाँका बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अधिकांश स्थानीयवासी बुकि जाने गर्छन् । शिक्षक नै पाटन जाने भएपछि विद्यालय बन्द हुने गरेको पुथा उत्तरगङ्गा गाउँपालिका–२ का स्थानीयवासी रामलाल घर्तीले बताए ।

यसबारेमा जिल्ला शिक्षा तथा समन्वय इकाइमा कुनै औपचारिक जानकारी नआएको बताइएको छ । हरेक वर्ष यार्सा टिप्ने समयमा विद्यालय बन्द हुने प्रचलन जस्तै भएको समन्वय इकाइ प्रमुख तिलक गौतमले बताए । अहिले बन्द भए पनि बर्खे बिदामा मिलान गरिने हुँदा पठनपाठनमा खासै असर नपुग्ने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement