काठमाण्डु– एमाले सांसद यशुदाकुमारी बरालले सरकारका मन्त्री र सर्वसाधारणले पाउने स्वास्थ्य उपचार तथा आपत्कालीन उद्धार सुविधाबीच ठूलो अन्तर रहेको भन्दै सरकारमाथि प्रश्न उठाएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले मन्त्री बिरामी पर्दा तत्काल हेलिकोप्टरको व्यवस्था हुने तर सामान्य नागरिकले अस्पताल पुगिसक्दा पनि स्ट्रेचर नपाउने अवस्था रहेको बताइन् ।
उनले भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललाई बिरामी भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै राज्यको यस्तो सुविधा आवश्यक परेका सबै नागरिकका लागि समान रूपमा उपलब्ध हुनुपर्ने धारणा राखिन् ।
‘मन्त्री बिरामी हुँदा हेलिकोप्टर पुग्छ, तर जनताले अस्पतालमा स्ट्रेचरसमेत पाएका छैनन्,’ उनले भनिन्, ‘मैले भौतिक पूर्वाधार मन्त्रीलाई हेलिकोप्टरबाट उद्धार गर्न हुन्न भन्न खोजेकी होइन । तर, सरकारले सबैलाई समान व्यवहार गर्नुपर्छ । सबै बिरामीले समयमा उपचार पाउनुपर्छ ।’
बरालले सरकारको ध्यान स्वास्थ्य सेवामात्र नभई नागरिकका दैनिक आवश्यकता पूरा गर्नेतर्फ पनि पुग्न नसकेको बताइन् । विशेष गरी खाना पकाउने ग्यासको अभावमा सर्वसाधारणले लामो समय लाइन बस्नुपरेको उनले संसद्मा सुनाइन् ।
उनका अनुसार ग्यासको लाइनमा सुत्केरी र बिरामीसमेत बस्नुपर्ने बाध्यता छ ।
‘१३ दिनको सुत्केरी दिनभर लाइन बस्दा ग्यास पाएका छैनन् । बिरामीहरू दिनभर लाइनमा बस्दा पनि रित्तो हात फर्किनुपरेको छ,’ उनले भनिन् ।
नागरिकले सामान्य सुविधा प्राप्त गर्नसमेत कठिनाइ खेपिरहेका बेला सरकारबाट प्रभावकारी सेवा प्रवाह हुन नसकेको भन्दै बरालले सुशासनको अवस्थामाथि समेत प्रश्न उठाइन् ।
उनले जनताले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताउँदै प्रश्न गरिन्, ‘के भएको सरकार ?ः जनताले कहिलेसम्म यस्तो सास्ती भोग्नुपर्ने हो ?’
आइतबार स्वास्थ्यमा समस्या आएपछि पूर्वाधारमन्त्री लम्साललाई हेलिकोप्टरबाट उद्धार गरी धनगढी लगिएको थियो । त्यसपछि उनलाई नेपाली सेनाको स्काइट्रकमाफर्त काठमाण्डु ल्याइएको थियो। उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् ।
लम्साल सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको अवस्थाबारे स्थलगत निरीक्षण गर्न पुगेका थिए । त्यही क्रममा बैतडीमा स्वास्थ्यमा समस्या देखिएपछि उनको उद्धार गरिएको थियो ।




प्रतिक्रिया