सुन काण्डमा जब उच्चपदस्थ नेताको नाम आयो, सीआईबीको गाडीमा ब्रेक लाग्यो : योगेश भट्टराई


काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी काण्डमा केही उच्चपदस्थ नेताको नाम आउँदा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को गाडीमा ब्रेक लागेर मोडिएको आरोप लगाएका छन् ।

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले तस्करीमा उच्चपदस्थ संलग्न भए पनि कारवाहीको दायरामा आउनुपर्ने बताए ।

‘यसबीचमा सीआईबी र हाम्रो पार्टीबीच अविश्वास पैदा गर्ने काम भयो । हामीलाई चिसो पस्यो, सीआईबीको गाडी अनुसन्धानको ठीक दिशामा गइरहेको बेला जब ठूलालाई समात्नुपर्ने हुन्छ, तब गाडी मोडिन्छ । ललिता निवासमा अकस्मात मोडिन्छ, केही उच्चपदस्थ नेताको नाम आयो, सीआईबीको गाडीमा ब्रेक लाग्यो, गाडी मोडियो । भुटानी शरणार्थीमा त्यस्तै भयो, अनि हामीलाई चिसो पस्यो । अनि हामीले भन्यौं – सीआईबीलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न दिइएन । राजनीतिक दलका कारणले स्वतन्त्रतापूर्वक काम गर्न दिइएन । सत्तापक्षका ठूलै नेताले अवरोध सिर्जना गरिरहेका छन् । त्यसैले स्वतन्त्र छानबिन आयोग बनाउनुपर्छ भनेको हो ।’

एमालेको मागलाई सरकारले सम्बोधन गरेको उनले बताए । ‘आज एमालेले जे भनेको थियो, प्रधानमन्त्रीज्यू त्यो टुंगोमा पुग्नुभो,’ उनले भने ।

उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement