नेकपाका युवा, विद्यार्थी मेडिकल कलेजलार्इ राष्ट्रियकरण गर्नुपर्ने पक्षमा, अब सरकारले के गर्ला?


काठमाडौं– चिकित्सा शिक्षा सुधारको विषय पेचिलो बन्दै गएका बेला सरकारको नेतृत्वकर्ता नेकपाल कम्युुनिस्ट पार्टी (नेकपा) का युवा तथा विद्यार्थीले मेडिकल कलेज राष्ट्रियकरण गर्न माग गरेका छन्।

नीजि क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई राष्ट्रियकरण वा गैरनाफामूलक ट्रष्टमा रुपान्तर गर्न चार संगठनले माग गरेका हुन्।

आइतबार नौं बुँदे धारणा र मागहरु सार्वजनिक गर्दै तत्कालीन एमाले र माओवादी निकट र हाल एकीकरण प्रक्रियामा रहेका युवा, विद्यार्थी संगठनहरुले सबै प्रदेशमा एउटा सुविधा सम्पन्न सरकारी शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्न माग गरेका छन्।

युवा संघका अध्यक्ष रमेश पौडेल, वाइसियलका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियु र अनेरास्ववियुका (क्रान्तिकारी) का अध्यक्षद्वय क्रमशः नवीना लामा र रञ्जित तामाङले आइतबार विज्ञप्ति जारी गरी संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा उल्लेख गरिएको भन्दै स्मरण गराएका छन्।

‘शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधानअनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस्,’ विज्ञप्तिमा भनिएको छ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी अनशनमा रहेका बेला सरकारको नेतृत्व गरेको दलकै युुवाहरुको यस्तो माग आएको हो।

यसैगरी, चिकित्सा शिक्षाको छात्रवृत्तिलाई न्युन आय, गरिब, र लक्षित समुदायमा आधारित बनाई पारदर्शी ढंगबाट वितरण गर्न पनि माग गरेका छन् ।

नेकपाका युवा र विद्यार्थी संगठनले स्वास्थ्य क्षेत्रमा बन्द हड्ताल पूर्ण प्रतिबन्ध लगाई सरकारी तलब भत्ता खाएर जनतालाई सेवा नदिने स्वास्थ्यकर्मीलाई कारबाही गर्न पनि माग गरेका छन् ।

उनीहरुले वार्तामार्फत डा। गोविन्द केसीको अनसन तत्काल अन्त्य गर्न र केसीको अनसनमा राजनीतिक घुसपैठ र अराजकता भएको भन्दै त्यसलाई पनि अन्त्य गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement