काठमाण्डु – नेपालको परराष्ट्र नीतिलाई अनुसन्धानमा आधारित, समसामयिक तथा युवा पुस्ताको ज्ञान, सीप र विशेषज्ञतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नशिप कार्यक्रम–२०२६’ सम्पन्न भएको छ ।
परराष्ट्र मन्त्रालयको पहलमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले सञ्चालन गरेको ८ हप्ताको कार्यक्रममा नेपालभित्र तथा विदेशमा रहेका युवा नेपाली पेशाकर्मी, अनुसन्धानकर्ता र विद्यार्थीलाई नेपालको परराष्ट्र नीतिका प्राथमिकतासँग सम्बन्धित विषयमा प्रत्यक्ष अनुसन्धान गर्ने अवसर प्रदान गरिएको थियो ।
कार्यक्रममा १० जना फेलो र १० जना इन्टर्न सहभागी थिए भने यो पूर्णरूपमा स्वेच्छिक आधारमा सञ्चालन गरिएको थियो ।
समर फेलोसिपमा नेपालको रक्षा कूटनीतिमाथि अध्ययन गरेकी डा. हिन्दू संस्कृतिका कार्कीले कार्यक्रम आफ्नो व्यावसायिक यात्राका लागि महत्त्वपूर्ण अवसर बनेको बताइन् । उनले फेलोशिप अवधिमा सरकारसँग नजिक रहेर काम गर्ने, विभिन्न निकायसँग सहकार्य गर्ने तथा आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाएको उल्लेख गरिन् । चीनको फुदान विश्वविद्यालयबाट अन्तरराष्ट्रिय राजनीतिमा विद्यावारिधि गरेकी कार्कीले कार्यक्रमबाट विदेश मामिलामा देशलाई पनि टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
परराष्ट्र नीतिमा युवाको ज्ञान र विशेषज्ञता
नेपालको परराष्ट्र नीति दीर्घकालीन राष्ट्रिय हितमा आधारित रहेको मन्त्रालयको भनाइ छ । बदलिँदो अन्तरराष्ट्रिय परिवेशमा आर्थिक कूटनीति, लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र नयाँ ज्ञानको भूमिका महत्त्वपूर्ण हुने मन्त्रालयले जनाएको छ ।
नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहेकाले अन्तरराष्ट्रिय व्यापार, सहुलियतपूर्ण वित्तीय पहुँच तथा विकास साझेदारीमा परिवर्तन आउने अपेक्षा गरिएको छ । त्यसलाई ध्यानमा राख्दै युवा अनुसन्धानकर्ता र पेसाकर्मीको ज्ञानलाई नीतिगत तहसँग जोड्ने उद्देश्यले समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम अघि सारिएको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा अध्ययन तथा पेसागत क्षेत्रमा सक्रिय नेपाली युवासँग रहेको ज्ञान, सीप, अनुभव र अन्तरराष्ट्रिय सञ्जाललाई नेपालको राष्ट्रिय हितमा उपयोग गर्न सकिने सम्भावनालाई आधार बनाएर कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार मन्त्रालयले युवा अनुसन्धानकर्ता तथा पेशाकर्मीहरूसँग संरचित साझेदारी निर्माण गर्ने नीति लिएको छ । कार्यक्रममा सहभागीले मन्त्रालयका प्राथमिकताका क्षेत्रमा भइरहेको नीतिगत कामलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए ।
ज्ञान, साझेदारी र सञ्जाल
कार्यक्रमलाई ज्ञान, साझेदारी र सञ्जाल गरी ३ आधारमा विकास गरिएको थियो । ज्ञानतर्फ नेपालको आगामी परराष्ट्र नीतिलाई प्रभावित गर्ने विषयमा विश्लेषणमा आधारित अनुसन्धान उत्पादन गर्ने लक्ष्य राखिएको थियो । सहभागीले आफ्नो शैक्षिक प्रशिक्षण, अनुसन्धान सीप तथा क्षेत्रगत विशेषज्ञताको प्रयोग गरेका थिए ।
साझेदारीतर्फ सरकार र अनुसन्धान तथा पेशागत समुदायबिच कार्यगत सम्बन्ध विकास गर्ने उद्देश्य राखिएको थियो । सहभागीले मन्त्रीस्तरीय तहमा परराष्ट्र नीति कसरी निर्माण र कार्यान्वयन हुन्छ भन्ने बुझ्ने अवसर पाए भने मन्त्रालयले उनीहरूबाट नयाँ दृष्टिकोण र अन्तरराष्ट्रिय अनुभव प्राप्त गर्ने अपेक्षा गरेको थियो । सञ्जाल निर्माणलाई कार्यक्रमको दीर्घकालीन पक्षका रूपमा अघि बढाइएको थियो ।
१० विषयमा अनुसन्धान
कार्यक्रमअन्तर्गत सहभागीले १० वटा अनुसन्धान विषयमध्ये एउटा छनोट गरी आफ्नै मौलिक अनुसन्धान प्रश्न तयार गरेका थिए । रणनीतिक मामिला, अन्तरराष्ट्रिय कानुन, डिजिटल सुशासन, उदीयमान प्रविधि, राष्ट्रिय सुरक्षा, द्वन्द्व, आर्थिक जोखिम, जलवायु कूटनीति, ऊर्जा, श्रम कूटनीति, डायस्पोरा, पर्यटन, सार्वजनिक कूटनीति तथा विकास वित्त लगायतका विषयलाई अनुसन्धानको प्राथमिकतामा राखिएको थियो ।
मन्त्रालयको प्रत्यक्ष अनुभव
कार्यक्रमले अनुसन्धानलाई मात्र प्राथमिकता नदिई सहभागीलाई मन्त्रालयको कार्यप्रणाली र नीतिगत प्रक्रियासँग प्रत्यक्ष जोड्ने व्यवस्था पनि गरेको थियो । सहभागीले सम्पर्क अधिकारीसँग नियमित बैठक गर्दै आफ्नो अनुसन्धानको प्रगति प्रस्तुत गरेका थिए । विभिन्न विज्ञ, पूर्वकूटनीतिज्ञ तथा क्षेत्रगत विशेषज्ञबाट प्रस्तुतिहरू पनि सञ्चालन गरिएका थिए, जसले सहभागीलाई नेपालको कूटनीतिक अभ्यासलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको थियो ।
नीतिगत अनुसन्धानमा जोड
कार्यक्रमको मुख्य उपलब्धिका रूपमा प्रत्येक सहभागीले नीतिगत अनुसन्धान दस्तावेज तयार गरेका थिए । ती दस्तावेज नीतिनिर्मातालाई लक्षित गरी तयार गरिएका थिए, जसलाई मन्त्रालयले भविष्यमा नीति निर्माण तथा कार्यान्वयनमा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ । अनुसन्धान सामग्री प्रकाशन गर्न चाहने सहभागीले मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पनि गरिएको थियो ।
जापानस्थित इन्स्टिच्युट अफ डेभलपिङ इकोनोमिजमा अनुसन्धान फेलोका रूपमा कार्यरत राशेष श्रेष्ठले कार्यक्रमले नेपाली परराष्ट्र नीति र विदेशमा रहेका नेपालीबीच सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार कार्यक्रमले सहभागीलाई धेरै नयाँ कुरा सिक्ने अवसर प्रदान गरेको छ ।
संस्थागत ज्ञान र नयाँ पुस्ताबीच पुल
परराष्ट्रमन्त्री खनालले समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रमले मन्त्रालयको संस्थागत ज्ञान र नयाँ पुस्ताको अनुसन्धान तथा अन्तरराष्ट्रिय अनुभवबिच पुल निर्माण गर्ने प्रयास गरेको बताए । बदलिँदो विश्वव्यवस्था, जलवायु परिवर्तन, प्रविधि, श्रम आप्रवासन, ऊर्जा, लगानी तथा विकास वित्तजस्ता विषयमा नेपालको कूटनीतिक क्षमता विस्तार गर्न युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । उनले अनुसन्धान, प्रमाणमा आधारित विश्लेषण र सूचित सार्वजनिक बहसले नेपालको परराष्ट्र नीति सुदृढ बनाउन योगदान पुग्ने बताए ।
कार्यक्रम सम्पन्न भएसँगै ८ हप्ताको अनुसन्धान अभ्यास औपचारिक रूपमा सकिए पनि मन्त्रालय र युवा पुस्ताबिच ज्ञान आदानप्रदान, अनुसन्धानमा आधारित नीति निर्माण तथा व्यावसायिक सञ्जाल विस्तार गर्ने दीर्घकालीन उद्देश्यलाई यसले संस्थागत आधार दिएको मन्त्रालयको निष्कर्ष छ ।




प्रतिक्रिया