काठमाडौं– भारतका सुरक्षा तथा कूटनीतिक मामिला विज्ञले भारतले एमाले अध्यक्ष केपी ओलीकै सहयोगमा माओवादीलाई फुटाएको दाबी गरेका छन् । भारतको रक्षा तथा परराष्ट्रमन्त्रालय मातहतको संस्था रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडीएसए)का नेपाल मामिला हेर्ने विज्ञ निहार नायकले उक्त दाबी गरेका हुन ।
उनले सन् २०११ अगस्टमा तत्कालिन नेपालका लागी भारतिय राजदूत जयन्तप्रसादसंग एमाले अध्यक्ष ओलीले आफुलाई भारतले सहयोग गरे दुई महिनामा माओवादीलाई तीन टुक्रा बनाउने जिम्मा लिन तयार रहेको प्रतिवद्धता जनाएको दाबी गरे ।
‘ओलीले भारतसंग नजिक हुन् माओवादीलाई टुक्रा–टुक्रा बनाउने भनेर जिम्मा लिएका थिए,आज उनि आफ्नो मिसनमा सफल भएका छन्,यसको हामीसंग प्रमाण छ ।’ नायकले काठमाडौंपाटीसंग कुरा गर्दैै भने ।
उनले त्यसका लागी नेपालका लागी पूर्व भारतिय राजदूत जयन्तप्रसाद प्रमाण दिन तयार रहेको समेत बताए ।
नायकले एमाले र माओवादीबीचको बाम गठवन्धनबाट भारत चिन्तित नभएको दाबी समेत गरे । उनले नेपालमा आगामी मंसिरमा हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा भारतको सहयोग समेत हुने बताए ।
नेपाल मामलाका जानकार समेत रहेका नायकले वाम एकताको फाइदा एमालेलाई भएपनि त्यसको सबैभन्दा बढी घाटा भने माओवादीलाई हुने दाबी गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारत र चीन दुबैले विश्वास नगर्ने नायकको भनाई थियो । उनले भारतकै सहयोगमा माओवादी नेता ९ बर्ष भारतमा बसेको भन्दै त्यो बेला माओवादीलाई चीनले सहयोग नगरेको बताए ।
‘माओवादी नेताहरु भारतमै बसेकोले चीनले उनिहरुलाई कहिले पनि विश्वास नगर्ने निहारको दाबी थियो । चीनका एक जना मेजर जनरलले नेपालका माओवादीबारे गरेको टिप्पणी तपाईलाई याद नै होला, चीन भ्रमण गर्दा पनि माओवादी नेताहरुलाई भारतसंग राम्रो सम्बन्ध राख्नुहोस भनेर बेइजिङले सुझाव दिनुको कारण पनि त्यही नै हो ।’ नायकले भने ।
उनले भारतले नेपालमा स्थायित्व चाहेको भन्दै वामपन्थीको गठवन्धनबाट भारत त्रसित नभएको प्रतिक्रिया समेत दिए । उनले वाम गठवन्धन निर्माणको पछाडी चीनको संलग्नता भएको कुनै प्रमाण फेला नपरेको बताए ।




प्रतिक्रिया