मध्यावधिमा पराजयसँगै ट्रम्पको साथ छाड्ने तयारीमा रुबियो, उपराष्ट्रपति भेन्स पनि टाढिँदै

मध्यावधिमा पराजयसँगै ट्रम्पको साथ छाड्ने तयारीमा रुबियो, उपराष्ट्रपति भेन्स पनि टाढिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय व्यहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र पार्टीभित्र असन्तुष्टि चुलिन थालेको छ।

विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने विकल्पबारे छलफल थालेका छन् । उता उपराष्ट्रपति जेडी भेन्सले पनि ट्रम्पसँग दूरी बढाउन थालेको खबर सार्वजनिक भएको छ।

इकोनोमिक टाइम्सका अनुसार रुबियो र उनका सल्लाहकारले आगामी राजनीतिक तथा प्रशासनिक भविष्यका विकल्पबारे छलफल गरिरहेका छन्।

उनले पदबाट राजीनामा दिने विषयमा ह्वाइट हाउसका अधिकारीहरूसँग समेत कुराकानी गरेको समाचारमा उल्लेख छ।

यद्यपि रुबियोले भने आफूले ट्रम्पको कार्यकाल समाप्त नहुँदासम्म उनीसँगै काम गर्ने योजना बनाएको भन्दै पद छाड्ने तयारीका समाचार अस्वीकार गरेका छन्।

यसैबीच उपराष्ट्रपति जेडी भेन्स पनि ट्रम्पसँग दूरी बढाउँदै आफ्नै राजनीतिक भविष्य सुरक्षित गर्ने रणनीतिमा लागेको बताइएको छ।

सन् २०२८ को राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै भेन्सले ट्रम्पका नीतिप्रति असन्तुष्ट मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्ने प्रयास गरिरहेको समाचारमा उल्लेख छ।

विशेषगरी इरान युद्ध, बढ्दो महँगी र इजरायललाई अमेरिकाले दिएको समर्थनप्रति असन्तुष्ट मतदातालाई भेन्सले लक्षित गरिरहेको बताइएको छ।

उनले रिपब्लिकन पार्टीको निर्वाचन पराजयको प्रमुख कारण इरान युद्धलाई मानेको पनि सञ्चारमाध्यमले जनाएका छन्।

ट्रम्प भने आफ्नो नीतिको बचाउ गर्दै आएका छन्। उनले पार्टीको आगामी राष्ट्रपतीय उम्मेदवार आफूले अहिले नै तोक्ने पक्षमा नरहेको संकेत गरेका छन्।

दुवै सदनमा रिपब्लिकनको पकड गुम्यो

मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्का दुवै सदनमा बहुमत हासिल गरेको छ। प्रतिनिधिसभाका ४३५ सिटमध्ये डेमोक्रेटिक पार्टीले २५३ र रिपब्लिकन पार्टीले १५७ सिट जितेका छन्। बाँकी २५ सिटको अन्तिम नतिजा आउन बाँकी छ।

त्यस्तै, सिनेटका ३५ सिटमा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीले २० र रिपब्लिकन पार्टीले १३ सिट जितेका छन्। बाँकी दुई सिटको नतिजा आउन बाँकी रहँदा सिनेटमा डेमोक्रेटिक पार्टीको कुल सिट संख्या ५४ पुगेको छ।

गभर्नर निर्वाचनमा पनि डेमोक्रेटिक पार्टीले अग्रता कायम गरेको छ। ३६ मध्ये ३४ राज्यको नतिजा सार्वजनिक हुँदा डेमोक्रेटिक पार्टीले २२ र रिपब्लिकन पार्टीले १२ राज्यमा जित हासिल गरेका छन्।

ट्रम्प प्रशासनमा राजीनामाको सिलसिला

निर्वाचन परिणाम सार्वजनिक भएपछि ट्रम्प प्रशासनमा राजीनामाको क्रमसमेत सुरु भएको छ। भारतीय मूलकी अमेरिकी अधिकारी हरमीत कौर ढिल्लोंले अमेरिकी न्याय विभागको नागरिक अधिकार विभाग प्रमुख पदबाट राजीनामा दिएकी छन्।

त्यस्तै, रक्षा मन्त्री पीट हेगसेथमाथि पनि पद छाड्न दबाब बढेको समाचारमा उल्लेख छ। रिपब्लिकन सांसद थोमस मेसीले उनीसँग राजीनामा मागेका छन्।

निर्वाचनमा पराजयपछि ट्रम्पको नेतृत्व, विदेश नीति, व्यापार शुल्क, आप्रवासन नीति र इरान युद्धलाई लिएर पार्टीभित्रै प्रश्न उठ्न थालेका छन्।

यसले रिपब्लिकन पार्टीमा नेतृत्वको आगामी उत्तराधिकार र सन् २०२८ को राष्ट्रपतीय निर्वाचनलाई लिएर आन्तरिक प्रतिस्पर्धा तीव्र हुने संकेत गरेको छ।