काठमाडौँ – भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ तर कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख जिल्ला अधिकारीहरूको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भन्नुभयो, “अहिले भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउने नेपालीका लागि नेपाल–भारत सीमामा २० वटा नाका खुलाइएको छ । खुला सिमाना रहेका भारतसँग यसअघि एक सयभन्दा बढी औपचारिक प्रवेश बिन्दु रहेकोमा मुलुकमा बन्दाबन्दी सुरु भएसँगै अत्यावश्यकीय वस्तुको ढुवानी गर्नुबाहेक सीमा बन्द गरिएको थियो । ”
झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले सरकारद्वारा तोकिएको प्रवेश बिन्दुको पूर्ण पालना गरिएको बताउँदै खुला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गरिरहेकालाई क्वारेन्टाइनमा राख्ने गरिएको र उहाँहरूको पीसीआर परीक्षण गर्ने गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म भारतबाट नेपाल प्रवेश गरेका एक हजार पाँच सय जनाको पीसीआर परीक्षण गरिएको छ । भारतसँग १४४ किलोमिटर सिमाना रहेको झापामा १५९ सुरक्षा पोस्ट राखिएको छ ।
प्रवेश बिन्दुबीचको दूरीका कारण स्वदेश फर्कनेहरूमा व्यावहारिक समस्या देखिएको बताउँदै उहाँले भन्नुभयो, “झापा र मोरङको बीचमा रहेका गौरीगञ्ज नाका भएर स्वदेश फर्कन चाहने व्यक्तिलाई काँकडभिट्टा पुग्न दुई दिन लाग्न सक्छ, प्रवेश बिन्दु तोकिँदा यस प्रकारका समस्या देखिएका छन् । ”यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया