नयाँ सहरको डीपीआर तयार

नयाँ सहरको डीपीआर तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्राधिकरणले जनाएको छ । बैठक समितिका अध्यक्ष सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको थियो ।

प्रस्तावित चार नयाँ सहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरिएको प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिनुभयो । ललितपुर महानगरपालिकाका नगरप्रमुख बैठकमा अनुपस्थित रहनुभएको हुनाले ललितपुर जिल्लामा पर्ने प्रस्तावित सहर ‘काठमाडौँ नैऋत्य’ को डीपीआरबारे निर्णय हुन नसकेको उहाँले बताउनुभयो ।

भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म (पूर्व–उत्तर) ‘काठमाडौँ इसान’ स्मार्ट सिटी निर्माण गर्ने गरिएको बताउँदै प्राधिकरण प्रमुख तिवारीले भन्नुभयो, त्यसैगरी भक्तपुरकै बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म (पूर्व–दक्षिण) ‘काठमाडौँ आग्नेय, ललितपुरको सिमालखालदेखि खहरे खोलासम्म (दक्षिण–पश्चिम) ‘काठमाडौँ नैऋत्य’ र काठमाडौँको साँखु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ‘काठमाडौँ उत्तर’ स्मार्ट सिटी निर्माण गरिने प्रस्ताव गरिएको छ ।

‘काठमाडौँ इसान’ को डीपीआर निर्माण फिनल्यान्डको हेलेन एन्ड कम्पनी र जेके एसोसियट्स (जेभी)ले गरेको हो । त्यसैगरी, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ नैऋत्य’ को डीपीआर नेपाली कम्पनी ईएमआरसी र फुलब्राइट कन्सल्टेन्सीले गरेको थियो भने ‘काठमाडौँ उत्तर’ को डीपीआर नेपाली कम्पनी टेक कन्सल्ट्यान्टले गरिरहेको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।