कांग्रेस पदाधिकारी छान्न हम्मे

कांग्रेस पदाधिकारी छान्न हम्मे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- आफू निकट नेतालाई मात्र पार्टीको रिक्त पदाधिकारी प्रस्तावको तयारी गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई रोक्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सक्रियता बढाएको छ । सभापति शेरबहादुर देउवाले विगतको संंस्कारलाई कुल्चदै मनोमानी ढंगले पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेको भन्दै पौडेल पक्षीय नेताहरू केन्द्रीय समितिमा देउवाललाई ब्रेक लगाउने तयारीमा जुटेका हुन् ।

विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र रिक्त पदाधिकारीको भर्पाई गरिसक्नु पर्ने भए पनि महाधिवेशन सम्पन्न भएको २६औं महिना चल्दै गर्दा समेत रिक्त पदाधिकारीहरू चयन हुन सकेका छैनन् ।

पदाधिकारी छान्ने अन्तिम गृहकार्यमा रहेका सभापति देउवालाई यतिबेला आफ्नै समूहका नेताहरूबाट समेत दबाब आएको छ । विगगमा फरक फरक जिम्मेवारीबाट सघाएका निकटका नेताहरू नै पदाधिकारीका लागि बार्गे्निङ गर्न थालेपछि देउवा आफ्नै समूहबाट समेत निर्णय गर्न सकसमा छन् । केन्द्रीय समितिमा बहुमतमा रहे पनि एकलौटी ढंगबाट विगतको संस्कार भुलेर देउवाले पदाधिकारी प्रस्ताव गरे केन्द्रीय समितिबाट सकेसम्म रोक्ने पक्षमा पौडेल पक्षीय नेताहरूले सक्रियता बढाउन थालेका छन् ।

पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंहले सभापतिले विधान मिचेर निर्णय गर्दै अघि बढेकाले कुनै हालतमा पदाधिकारी मनोनीत गर्न नदिने बताइसकेका छन् ।

उनले देउवाले एकतर्फी ढंगबाट पदाधिकारी प्रस्ताव गरे केन्द्रीय समितिबाट पास हुन नदिने भन्दै केन्द्रीय समितिमा आफूहरू हेरेर नबस्ने बताउँदै आएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका केन्द्रीय सदस्य डा. रामशरण महतले सभापतिले सबैलाई चित्त बुझ्दो तरिकाबाट पदाधिकारी छान्नुपर्ने बताएकाे खबर अाजकाे राजधानी दैनिकमा छ ।

‘सभापतिले विगतको संस्कारलाई ध्यान दिई सबैलाई चित्त बुझाएर सहमतिबाटै रिक्त पदाधिकारी प्रस्ताव गर्नुपर्छ, वैधानिकतामाथि पनि प्रश्न उठ्ने बेला कुनै निर्णय एकलौटी नहोस् भन्ने हामी चाहन्छौं,’ नेता महतले राजधानीसँग भने । अर्का, नेता डा. शेखर कोइरालाले कुनै पनि कुरा विधानसंगत नभइरहेका बखत पदाधिकारी मनोनीत गर्दा विधानकै कुरामा बखेडा गर्नु बेकार हुने बताए ।

‘विधानसंगत त केही पनि भएको छैन, विधानसंगत पनि गर्नुपर्छ भन्ने अनि भाग पनि खोज्नु ठीक हुँदैन,’ कोइरालाले भने, ‘महाधिवेशन भएको यतिका समय भयो, विधानसंगत होइन भनेर सभापतिले नै भन्न सक्नुपर्छ, कसलाई के बनाउने उहाँको कुरा हो ।’पार्टी्भित्र नेतृत्व परिवर्तनको बहस चलाउँदै आएका युवा नेतामध्येका एक गुरुराज घिमिरेले पदाधिकारी प्रस्ताव गर्नुअघि सभापति, वरिष्ठ नेतासहित वर्तमान कार्यसमितिका अन्य पदाधिकारीबीच छलफल भएर टुंगोमा पुग्दा जायज हुने बताए ।

‘पदाधिकारी प्रस्तावको तयारी भन्ने मैले पनि सुनेको हुँ, सभापतिले वरिष्ठ नेतासहित पदाधिकारीसँग छलफल गरेर निर्णय गर्दा उत्तम हुन्छ,’ घिमिरेले भने । पार्टीमा रिक्त एकएक उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा सभापति देउवाले स्थगित केन्द्रीय समिति सुरु भएपछि नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।

उनी निकटका नेताका अनुसार बैठकको अन्त्यमा देउवाले रिुक्त पदका लागि नाम प्रस्ताव गर्ने बताइएको छ । रिक्त पदहरूमध्ये उपसभापतिमा विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको चर्चा चल्दै आएको छ भने महामन्त्रीमा पूर्णबहादुर खड्का, बालकृष्ण खाँड र ज्ञानेन्द्रबहादुर कार्कीको चर्चा छ ।

यसैगरी, सहमहामन्त्रीमा डा. प्रकाशशरण महत र मीन विश्वकर्माको चर्चा हुँदै आएको छ । तर, पौडेल पक्षीय नेताहरूले भने पहिले पहिलेको संस्कारअनुसार सहमहामन्त्री आफ्नो पक्षलाई दिनुपर्ने भन्दै आवाज उठाउँदै आएका छन् । नेता खुमबहादुर खड्काको निधनपछि स्थगित केन्द्रीय समिति बैठक ७ वैशाखबाट सुरु हुँदै छ ।