काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले सरकारबाटै जनताको राजनीतिक अधिकारमाथि प्रहार भइरहेको आरोप लगाएका छन् ।
माघी पर्वको अवसरमा एक विज्ञप्ति जारी गर्दै दुवै अध्यक्षले नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको बताएका हुन् ।
‘नेपालीहरुमा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको विकास भएको हो । नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो । तर, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न यस पर्वको अवसरमा आदिवासी जनजाति लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं ।’
थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार आज माघी, माघेसङ्क्रान्ति बनाउँदैछन् । नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्ण मनाउन अध्यक्षद्वय नेपाल र प्रचण्डले आग्रह गरेका छन् ।




प्रतिक्रिया