काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दशैं पर्वले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन्। विजया दशमीको अवसरमा उनले सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादशैँको शुभकामना दिएका हुन्।
बडादसैंको अवसरमा शुभकामना दिँदै सभापति लामिछानेले पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुने विश्वास व्यक्त गरेका छन्।
‘असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश बोकेको नेपालीहरूको महान् चाड बडादशैँ (विजयादशमी), २०८३ को पुनीत अवसरमा म मेरो व्यक्तिगत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
’सभापति लामिछानेले भनेका छन्,‘यस वर्षको बडादशैँ हामी विपत्ति र शोकको घडीमा मनाउँदै छौँ। धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको छ भने हजारौँ परिवार घरबारविहीन र विस्थापित भएका छन्। यस दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। सङ्कटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ।’
लामिछानेले नवदुर्गा भवानीले सबैलाई आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको सर्वोपरि हितमा निस्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र जस्तोसुकै सङ्कटसँग जुध्ने अदम्य साहस प्रदान गरून् भन्ने कामना गरेका छन्।



प्रतिक्रिया