काठमाण्डु – मेलम्चीको पानी काठमाण्डु उपत्यकावासीका धारामा खस्न नपाउँदै कसले जस लिने भन्ने विषयमा होडबाजी नै चलेको छ ।
तत्कालिन प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले आफ्नो कार्यकालमा मेलम्चीको पानी काठमाण्डु ल्याउने परिकल्पना गरेका थिए । करिब ३० वर्षपछि मेलम्चीको पानी काठमाण्डु आइपुगेको छ । कांग्रेसले केपी शर्मा अोली नेतृत्वको सरकारले कृष्णप्रसादको नामै नलिएको भन्दै वक्तबाजी नै जारी गर्यो ।
‘मेलम्ची परियोजनाको सफलताले काठमाडौंको पानी संकट हल गर्न महत्वपूर्ण योगदान त पु¥याउंदैछ नै संगैमा यो सफलताले देशको समृद्धिका लागि आधुनिक प्रविधि र अझ नविन परियोजनाहरुका लागि थप मार्गप्रशस्त समेत गरेको छ । नेपाली कांग्रेसको सरकारले शुरु गरेको परियोजना अनेक प्रतिकुलता चिर्दै सफल हुन निश्चय नै दुई दशक भन्दा बढि समय लाग्यो, तर यो सफलता उपत्यकालाई संगै पुरै देशका लागि हर्ष र गौरवको घडि बनेको छ । यो घडीमा सन्त नेता किसुनजीलाई संगै यसको शुरुआत देखि सफलतासम्म सरिक सबैलाई हामी सम्मानपूर्वक स्मरण गर्दछौं’, कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मेलम्चीको पानी काठमाण्डुमा ल्याउने परिकल्पनाकार राजा वीरेन्द्र शाह भएको दाबी गरेका छन् ।
‘मेलम्चीबाट पानी ल्याई काठमाण्डुका जनताको घर घरमा पुर्याउने आयोजनाको परिकल्पना राजा वीरेन्द्रको हो । पछि किसुनजीले मुखरित गर्नुभयो’, उनले भनेका छन्, ‘यस प्रसंगमा राजा वीरेन्द्रको नाम उल्लेख गर्दा हिनताबोध गर्नु जरुरी छैन । कसैले चाहेर पनि नेपाली इतिहासबाट राजाको नाम र योगदान मेटाउन सक्दैनन् ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्चीको पानी औपचारिक रुपमा उद्घाटन गरेकी छन् । यही चैत १५ गतेदेखि उपत्यकाका केही भागमा पुरानो प्रणालीअनुसार राजधानीमा चार करोड लिटर पानी हालेर परीक्षण शुरु गरिएको थियो ।
परीक्षण सफल भएपछि आजदेखि साढे आठ करोड लिटर पानी परीक्षण सफल भएको क्षेत्रमा वितरण गरिएको हो । पानी वितरण गर्न उपत्यकामा नौ पोखरी निर्माण सम्पन्न भएका छन् । एक पोखरी हाल निर्माण भइरहेको छ ।
गत फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ अम्बाथानस्थित सुरुङबाट हालिएको पानी २६.५ किमी दूरी पार गर्दै फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो ।
पहिलो चरणमा सुरुङमा प्रतिसेकेण्ड २६० लिटर पानी हालेर परीक्षण गरिएको थियो । महाशिवरात्रिका अवसरमा दुई दिन मेलम्चीको पानी वाग्मतीमा बगाएर पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई स्नान गर्ने अवसरसमेत दिइएको थियो ।
मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले आजदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको छ । केही दिनमा १७ करोड लिटर नै पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
दोस्रो चरणमा याङ्री र लार्केको १७ करोड लिटर पानीसमेत राजधानी ल्याइने योजना छ । दोस्रो चरणको कामसमेत शुरु भइसकेको आयोजनाले जनाएको छ ।




प्रतिक्रिया