काठमाण्डु – राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलविरुद्धमा चार दलले साझा उम्मेद्वार बनाएका छन् ।
नेकपा एमालेका नेतासमेत रहेका गृहमन्त्री बादलविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन बनाएका हुन् ।
दुई सिटका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेविरुद्ध एमालेकै माधव नेपाल पक्षसहितको चार पक्षीय गठबन्धन बन्ने भएको हो । गठबन्धनको साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सारिएको छ । माधव नेपाल समूह निकट रहेका डा. देवकोटाले माओवादी केन्द्रको चुनाव चिन्हबाट उपनिर्वाचन लड्ने भएका छन् ।
वागमती र लुम्बिनी प्रदेशका दुई सिटको लागि जेठ ६ गते उपचुनाव हुने भएको छ । माओवादीका रामबहादुर थापा बादल र चन्द्रवहादुर खड्का नेकपा एमालेमा प्रवेश गरेपछि ती दुई स्थान रिक्त भएका थिए ।
मंगलबार र बुधबार कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेको माधव नेपाल पक्षबीच भएको छलफलपछि लुम्बिनीमा कांग्रेसलाई सघाउने तथा वागमतीमा प्रचण्ड–माधव पक्षलाई सघाउने सहमति भएको स्रोतले जनाएको छ ।




प्रतिक्रिया