सामान्य अवस्थामा घरकै आइसोलेसन राम्रो

सामान्य अवस्थामा घरकै आइसोलेसन राम्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरस सङ्क्रमितहरू सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ । सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूको सुझाव छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्राडा रवि शाक्य भन्छन्, “कोरोना सङ्क्रमित व्यक्ति सहज भएको खण्डमा होम आइसोलेसन बसेमा तनाव कम हुन्छ तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस भयो भने तुरुन्त अस्पताल जानुपर्छ ।” अहिले कोरोनाको नयाँ स्वरूप पहिलेभन्दा फरक भएको अनुभव व्यक्त गर्दै उनले अक्सिजनको मात्रा ९२ भन्दा कम भयो भने सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श लिने तथा अस्पतालमा आउन पनि अनुरोध गरे ।

“असजिलो हुँदा अस्पतालमा आउँदा केही बिग्रँदैन तर आफूलाई स्वास्थ्यमा समस्या छैन । कोरोनाको साधारण लक्षण मात्र छ भने घरमा आइसोलेसन नै राम्रो हुन्छ । अस्पतालमा धेरै बिरामीको अवस्था देखेर मानसिक तनाव हुन्छ,” उनको सुझाव छ । उनका अनुसार शय्याको कमी अस्पतालमा छँदै छ तर धेरै बिरामीको अवस्था कठिन भएको देख्दा बिरामीको आत्मबलमा कमी आउँछ ।

“आज राम्रो भएको बिरामी भोलि सघन कक्ष (आईसीयू)मा पुग्दा आफू पनि पुग्ने हो कि भन्ने चिन्ता त छँदै छ आफ्नो मान्छेसँग भेट नहुनुको पीडा थप हुन्छ । त्यसैले घरमा सही तरिकाले आइसोलेसनमा बस्दा राम्रो हुन्छ भन्ने सुझाव दिएको हुँ,” डा.शाक्यले प्रष्ट पारे ।

श्वासप्रश्वासमा कठिन, छाती भारी हुने, आँखा रातो हुने, रिङ्गटा लाग्ने, ज्वरो कम नहुने, दिसा लगातार लागिरहने जस्ता समस्या आए अस्पतालमा सम्पर्क गर्नुपर्ने उनको सुझाव छ । डा. शाक्य भन्छन्, “घरको एकान्तबास बस्दा भेन्टिलेसन र खुला हावा आउने ठाउँ हुनु अनिवार्य छ । औषधि र खाना लिएर आउने मान्छेसँग सीधै सम्पर्कमा रहनबाट बच्नुपर्छ ।”-यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।