आत्मालोचना गर्दै विपक्षी गठबन्धनमा सहभागी भए एकता सम्भव : नेता यादव

आत्मालोचना गर्दै विपक्षी गठबन्धनमा सहभागी भए एकता सम्भव : नेता यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का नेता महेन्द्र राय यादवले महन्थ ठाकुर पक्ष आत्मालोचनासहित आए एकता हुने संभावना रहेको प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जानु गल्ती थियो भनेर आत्मालोचना गर्दै विपक्षी पाँच दलीय गठबन्धनमा सहभागी भए एकता सम्भव रहेको बताएका हुन् ।

नेता यादवले ठाकुरले कार्यकारिणी समितिमा थपेका २० जनाको नाम समेत फिर्ता लिनुपर्ने बताए । यसअघि जसपाभित्र एकअर्कालाई कारबाही गर्नेसम्मका गतिविधि भएका थिए । छुट्टाछुट्टै गतिविधि गरिरहेका जसपाका दुवै पक्षले आधिकारिता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसैका आधारमा आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

आयोगमा दुबै पक्षका नेताहरुले आफूहरू मिल्न नसक्ने बताएका छन् । मंगलबार आयोग पुगेका नेताहरूले पार्टीमा आफूहरु मिल्न नसक्ने भन्दै लिखित हस्ताक्षर गरेर बुझाएको जसपा नेता अनिल झाले बताए । नेताहरूले आयोगले राजनीतिक दल सम्बन्धी कानुन अनुसार कसलाई आधिकारिता दिन मिल्छ उसैलाई दिनू समेत भनेका छन् ।

आयोगमा उपेन्द्र यादव पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, प्रकाश अधिकारी आयोग पुगेका थिए भने महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी, सुरेन्द्र झा, केशव झा आयोग पुगेका थिए ।