‘मलाई शेरबहादुर देउवा मनपर्छ’ भिडियो तत्काल बन्द गर्न माग

‘मलाई शेरबहादुर देउवा मनपर्छ’ भिडियो तत्काल बन्द गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेपाली काँग्रेसका नेताहरुले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सार्वजनिक गरेको भिडियोप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री देउवाको नाममा खोलेको भाइबर गुरुपमार्फत ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किन भने’ शीर्षकमा विभिन्न भिडियो सार्वजनिक भएका थिए । तिनै भिडियोप्रति काँग्रेस नेताहरुले आपत्ति जनाएका हुन् ।

महामन्त्री पूर्णबहादुर खड्काले ट्वीटमार्फत प्रधानमन्त्री देउवाको बारेमा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोलाई गाईजात्राको संकेत दिएका छन् । साथै सो भिडियोहरु तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई उनले आग्रह गरेका छन् ।

लेखेका छन्, ‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि सम्पूर्ण गरी जनताका बीचमा स्थापित काँग्रेस सभापति तथा आदरणीय प्रधानमन्त्री शेरबहादुर देउवाज्युका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको ‘भिडियो गाईजात्रा’ तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु’,

त्यसैगरी प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्वीटमार्फत प्रधानमन्त्रीको भिडियोप्रति आपत्ति जनाउँदै राम्रो काम गरे जनता आफैले भिडियो बनाउने बताएका छन् ।

उनले लेखेका छन् , ‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सही सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैंले बनाउने छन् ‘भिडिओ’, नत्र पार्टीले बनाउला, पहिले फूल रोपौँ, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ । ‘प्रधानमन्त्रीको सचिवालय’को ध्यानाकर्षण गराएको छु । जय नेपाल ।’