पूर्वमुख्यसचिव लिलामणी पौडेलको राजनीतिक सक्रियता, वाईसीएललाई सक्रिय बनाउँदै

पूर्वमुख्यसचिव लिलामणी पौडेलको राजनीतिक सक्रियता, वाईसीएललाई सक्रिय बनाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वमुख्यसचिव लिलामणी पौडेल सक्रिय राजनीतिमा लागेका छन् । औपचारिक रुपमा राजनीतिमा लागेको घोषणा नगरेपनि उनले माओवादी केन्द्रको कार्यक्रमलाई सम्बोधन गरेको भिडियो सार्वजनिक भएको छ ।

उनले बुधबार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ मा माओवादी केन्द्र र वाईसीएलको वडा भेलालाई सम्बोधन गरेको भिडियो सार्वजनिक भएको हो ।

प्रशिक्षणका क्रममा पौडेलले अहिलेको व्यवस्था माओवादी केन्द्रले ल्याएको भन्दै पछाडि परेको वर्ग, समुदायलाई राज्यसत्ताको मुलधारमा लैजाने अवसर दिलाएको दाबी गरेका छन् । पौडेलले एमाले र माओवादी आधारभूतरुपमा फरक रहेको बताएका छन् ।

‘यो व्यवस्था कसले ल्याएको हो ? यो व्यवस्थाको वकालत गर्ने को हो ? स्थापित गर्ने को हो ? समाज रुपान्तरण भनेको त त्यो हो नि । हिजो समाजमा जुन किसिमले पछाडि परेको वर्ग, समुदाय थियो । जाति थियो । त्यसलाई राज्यसत्ताको मुलधारमा लैजाने अवसर दिलाउने शक्ति माओवादी केन्द्र हो । लड्यो, लडेर स्थापित गर्यो । संविधानमा, कानूनमा, राज्य प्रणालीमा, व्यवस्थामा । त्यसकारण त तपाईंहरु प्रतिनिधि भइराख्नुभएको छ,’ उनले भनेका छन्, ‘हिजो त त्यो थिएन । अधिकारका रुपमा थिएन । भलै कोही नियुक्त भएका थिए । तर त्यो अधिकार स्थापित गर्ने काम माओवादीले ग¥यो । त्यसकारण माओवादी वामपन्थी शक्ति पनि हो, रुपान्तरणको एजेन्डा बोक्ने शक्ति पनि हो । तपाईंहरुलाई लाग्ला सबै उस्तै–उस्तै हुन् । एमाले र माओवादी भन्या उस्तै हुन् । यता गए पनि हुन्छ, उता गए पनि हुन्छ । होइन । आधारभूतरुपमा फरक छ । एजेन्डा बोक्ने विषयमा फरक छ । राज्य प्रणालीको वकालत गर्ने विषयमा फरक छ ।’

साथै पौडेलले माओवादीले मरेर, लडेर, राज्यसत्तासँग पौठेजोरी खेलेर साधनस्रोतहरु ल्याएर विकास–निर्माणमा काम गरे पनि एमालेले त्यसको जस लिने गरेको बताएका छन् ।

‘सबैभन्दा धेरै कुप्रचार यहीँ भएको छ । हामी मरेर, लडेर, राज्यसत्तासँग पौठेजोरी खेलेर साधनस्रोतहरु ल्याएर यहाँको विकास–निर्माणमा काम गर्ने । अनि, काम गर्ने कालु मकै भालु भन्याजस्तो उनीहरु सोसल मिडियामा चोर, डाँका भनेर लेख्ने र तपाईंहरु प्रतिवाद गर्न नसक्ने । त्यसका दुई कारण छन्,’ उनले भनेका छन्, ‘एउटा हिजो तपाईंहरुलाई प्रशिक्षण थिएन । हामीले संगठनलाई कसरी लिएर जानुपर्छ भन्ने ज्ञान थिएन । रुपान्तरणका एजेन्डा बोक्ने को हो भन्ने जानकारी थिएन । अर्को, तपाईंहरु संगठित हुनुहुन्थेन । उनीहरु संगठित थिए, तपाईंहरु एक्लाएक्लै हुनुहुन्थ्यो । तपाईंहरुको काम के हो भने यस्तो कुरा आयो भने तुरुन्तै पार्टी कमिटी बस्ने र सत्य पत्ता लगाउने, विष्लेषण गर्ने, अनि सूचनाको कसरी प्रतिवाद गर्ने भन्ने विषयमा निर्णय लिने ।’