काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले उपप्रधानमन्त्री पाए अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपाले उपप्रधानमन्त्री नपाएमा रेणु यादव वा रामसहाय यादवको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको सांसद प्रमोद साहले बताए ।
‘पार्टीको भागमा उपप्रधानमन्त्री मिलेमा अध्यक्ष यादवले नै नेतृत्व गरेर जसपा सरकारमा सहभागी हुनेछ,’ उनले भने, ‘त्यसो नभए रेणु यादव वा रामसहाय यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने सामान्य छलफल भएको छ ।’
गठबन्धन सरकारमा जसपाले बढीमा पाँच र कम्तिमा चार मन्त्रालय पाउने सांसद साहले बताए । ‘तर २० प्रतिशतले पार्टी बिभाजन गर्ने अध्यादेश प्रतिस्थापन नभइकन जसपा नेपाल सरकारमा सहभागी भने हुने छैन,’ उनले अगाडि भने, ‘त्यसका लागि प्रतिस्थापन विधेक तुरून्त ल्याउन आग्रह गरिएको छ ।’
यता अध्यक्ष यादवले पनि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रीको नाम नपठाउने बताए । २० प्रतिशतमा दल विभाजन गर्ने अध्यादेश खारेज नगरे बहुदलीय व्यवस्था नै खारेज हुने उनको भनाइ छ । यादवले अध्यादेश खारेज गर्ने विषयमा प्रधानमन्त्रीसँग सहमति भइसकेकोे बताए ।
‘अध्यादेश खारेज गर्नुपर्छ भन्ने विषयमा सहमति भएको छ । कहिले हुन्छ प्रधानमन्त्रीले भन्नुहुन्छ, मैले भन्न सक्दिनँ,’ उनले भने ।केन्द्रीय समिति र संसदीय दल मध्ये एकमा २० प्रतिशत भए दल फुटाउन पाउने प्रावधान कायमै राखेर सरकारमा जाँदा जसपा विभाजन हुने यादवलाई डर छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको पक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि रहेको छ । सत्तारुढ गठवन्धनमा माधव नेपाल र उपेन्द्र यादवका परस्पर विरोधी अडानले गर्दा देउवा सरकारले पूर्णता नपाउंदै धरापमा पर्न सक्ने खतरा देखिएको छ ।




प्रतिक्रिया