काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का कारण गठबन्धन नटुट्ने बताएका छन् ।
बिहीबार काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन वाईसीएलको दोस्रो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसीका कारण पाँच दलीय गठबन्धन नटुट्ने बताएका हुन् । उनले हिजो बेलुका शीर्ष नेताहरुको गठबन्धनको बैठकमा जस्तोसुकै मूल्य चुकाएर पनि आगामी चुनावसम्म गठबन्धन कायम राख्ने र चुनाव लड्ने सहमति भएको बताए ।
‘हिजो बेलुका शीर्ष नेताहरुको गठबन्धनको बैठकमा जस्तोसुकै मूल्य चुकाएर पनि आगामी चुनावसम्म गठबन्धन कायम राख्ने र चुनाव लड्ने संकल्प गरेका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘एमसीसी ल्याएर गठबन्धन टुटाइदिने, एमसीसी भएपछि प्रचण्ड र शेरबहादुर झगडा गर्छन् । अनि गठबन्धन टुट्छ भन्ने केहीको चाहना चकनाचुर पारेका छौं । हाम्रो गठबन्धनमा एमससी मुख्य होइन, गठबन्धन मुख्य बनाएका छौँ ।’




प्रतिक्रिया